पोखरा । गाउँको माझ घरमा चुनावी सभाको तामझाम सुरु हुदैँ थियो । मतदाता रिझाउदैं पोखरा महानगरपालिका–२० आटीघर पुगेका थिए गठबन्धनकातर्फबाट कास्की २ का उम्मेदवार श्रीनाथ बराल र २ ‘ख’ का विन्दुकुमार थापा ।
चुनावी सभामा चहलपहल बढ्दै गर्दा आँटीघरको पुछारको एक घरमा शान्तकुमारी परियार आफ्नै धन्दामा व्यस्त थिइन् । भट्टमास स्याहार्न लौरोले चुट्दै गरेकी शान्तकुमारीले काम सकिएमात्रै चुनावी सभामा जाने बताइन् । उनका लागि चुनावी सभा भन्दा बाँदरबाट बल्लतल्ल जोगाएको भट्टमास थन्क्याउनु महत्वपुर्ण थियो । बर्षभर दुख गरेर बारीमा खेती लगायो थन्क्याउने बेला बाँदरले सखाप पार्छ । गाउँमा अरु ठुला विकास भन्दा बाँदर नियन्त्रण गरिदिए मात्रै हुन्थ्यो, कहिलेकाहीँ उनलाई लाग्छ । बाँदरले दिएको हैरानी मात्रै यहाँको समस्या होइन, अरु पनि थुप्रै छन ।
पोखरा शहरबाट भौगलिक दुरीले खासै टाढा नरहेको आँटीघरका अधिकांश घर रित्तो छ । लस्करै दुरस्तै करिब ८० घर छन् । केही जीर्ण घरमा ताल्चा ठोकिएको छ । सोचेजस्तो विकास नहुँदा हुने खानेहरु सबै पोखरा झरेका हुन । हुँदा खानेहरु मात्रै गाउँमा छन । अधिकांश घर त बुढापाकाले रुँघरे बसिरहेका छन् विकासको लहर पर्खदै । गाउँ पुग्ने सडक आधा कालोपत्रे छ त आधा कच्ची । कच्ची सडक बर्खाको बेला स्थानीयका लागि समस्याको पहाड बन्छ । महानगरपालिकामा पनि दुर्गमको बस्ती जस्तै अनुभूति हुन्छ ।
गाउँमा पर्यटनको सम्भावना अथाहा छ । बेलाबखत देशी विदेशी पर्यटक आँटीघर उक्लन्छन् । केही घरले होमस्टे चलाएका छन । तर, सडककै कारण पर्यटकको चाप उतिसारो हुदैन । सडकमात्रै सुधारिने हो भने पर्यटक बढ्ने र जिवनस्तर उकासिने गाउँलेको विश्वास छ । यिनै गाउँलेको मत पाएर २०७४ सालमा प्रतिनिधि सभामा रविन्द्र अधिकारी र प्रदेशसभामा विन्दुकुमार थापाले चुनाव जिते । पर्यटनमन्त्री भएको अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो । उपनिर्वाचनमा स्वर्गिय रविन्द्रपत्नि विद्या भट्टराई विजयी भइन् । विन्दुकुमार गण्डकी प्रदेशको कानून तथा सञ्चारमन्त्री भएका छन् । पाँच बर्षमा कसैले पनि परिणाममुखी काम गरेनन् भन्ने मतदाताको गुनासो छ । जो जोले जितेर गए, उनीहरुले यहाँको समस्यालाई नदेखेको स्थानीयको भनाई छ । तर, परिचित रहेको दाबी उम्मेदवार गर्छन् ।
प्रदेशका भौतिक पुर्वाधार मन्त्री समेत रहेका सोही क्षेत्रका समानुपातिका सासंद कुमार खड्काले एउटै वडामा ३० करोड रुपैयाँसम्म बजेट हाल्दा आटीघर प्राथमिकतामा नपरेको दुखेसो गाउँलेको छ । चुनावको मुखमा सपना बाँड्दै योजनाका खाका लिएर गाउँ उक्लेका उम्मेदवार मध्य कसलाई संसद पु¥याउने हुन् त्यो भने आँटीघरबासीको हातमा छ ।
प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०६:२८



