२०८३ साउन २१ गते बिहीबार

बस्तीमा बाढीको डर, खेतबारीमा भलपानीकै भर

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ कात्तिक २२ गते मंगलबार ०५:१७

हर्पनखोलासँगै जोडिएको डुडेफाँटमा सिंचाइको चर्को समस्या छ । सिंचाइका लागि यहाँका किसान बर्खामा पनि आकाशे पानीको भर पर्नुपर्छ ।

पोखरा । फेवातालको सिरानमा हर्पन खोला सुसाउँदै बगिरहेको छ । खोला छेउको डुडेफाँटमा सुनौला धानका बाला झुलेका छन् । अहिले खेतमा झुलिरहेका यी बाला फलाउँदाका व्यथा भने अर्कै छ । धान रोप्ने बेलाको दुख भनेरै साध्य छैन ।

हर्पनखोलासँगै जोडिएको डुडेफाँटमा सिंचाइको चर्को समस्या छ । सिंचाइका लागि यहाँका किसान बर्खामा पनि आकाशे पानीको भर पर्नुपर्छ ।

हिउँदमा शान्त रहने हर्पन, बर्खामा भने रुप फेर्छ । डुडेफाँटको बस्तीलाई त्रास हुन्छ, कतै बस्तीमा हर्पन पसेर विध्वंश मच्चाउने त होइन ? बर्खामा यसरी बौलाउने हर्पन किसानलाई चाहिएकोबेला भने खेतमा उक्लिन्न । बर्खाकै बेला पनि भलपानी नछोपेसम्म यहाँको करिब चार सय रोपनी खेत बाँझै हुन्छन् ।

आकाशमा बादल मडारिन थालेपछि वर्षा हुने आशमा किसान खुसी हुदै डुडेफाँट रोपाइँ गर्न झर्छन् । घाम चर्किएपछि हलो कोदालो बिसाएर घर फर्कन्छन् । गएका केही वर्ष भलपानी छोपेर पानी धान रोप्न अलि सहज थियो । सडक स्तरोन्नति गर्दा पानी बग्ने ह्युमपाइपसमेत हटाइयो । त्यसपछि सिंचाइको वर्षौं पुरानो समस्या फेरि बल्झियो । सिंचाइको सुविधा भए बाह्रैमास खेतीपातीले फाँट हराभरा हुने यहाँका किसान बताउँछन् ।

डुँडेफाँटमा सिंचाइका लागि कुलो बनाउने वाचा राजनीतिक दलका नेताहरुले प्रत्येक चुनावताका गर्छन् । तर, पटकपटकको आश्वासन पूरा नहुँदा स्थानीयबासी नेताका वाचा पनि पत्याउन छाडेको बताउँछन् । चुनावका बेला उम्मेदवार सिंचाइसँगै अनेकन योजना सुनाउने तर, भोट पाएर जितेपछि बिर्सने स्थानीयको गुनासो छ । जीविका उकास्ने वाचा गरेर सत्तामा पुग्नेहरुले कहिल्यै पूरा नगर्दा जनतामा निराशा बढ्दो छ । आफ्ना जनप्रतिनिधि चुन्नलाई मतदान गर्न पनि उनीहरु त्यति उत्साहित छैनन् ।

प्रकाशित मिति २०७९ कात्तिक २२ गते मंगलबार ०५:१७
हजुरको प्रतिक्रिया