काठमाण्डौ – निर्वाचन आयोगले चुनावको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेको छ । आज सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नो नट अगेन बारे बोलिरहँदा कसैले पनि चुनाव र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरे । उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावरूपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररूपी ढुङ्गा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए । उनले अँध्यारो कोठामा बसेर चुनाव बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकलाई उम्मेदवारको सही सूचना दिन अग्रसर हुन सुझाव दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले आचारसंहिता कडाइ गरेका कारण चुनावको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजदेखि चुनावको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताए । उनले चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरूलाई चुनावसम्बन्धी सूचनाहरू प्रचारप्रसार गरिदिन आग्रह पनि गरे ।
प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०५:१३




