गण्डकीमा मृत्यु हुनेको संख्या ३६ पुग्यो
पोखरा । कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा मंगलबार थप २ जनाकाे निधन भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान ११:०० बजे विज्ञप्ती जारी गर्दै प्रदेशमा थप २ जनाको ज्यान गएको र ४ जना संक्रमित थपिएको जनाएको छ ।
नवलपरासी (ब.सु.पू.) काे कावासोती-५ निवासी ७७ बर्षीय कोरोना संक्रमित महिलाको आज बिहान ०३:४५ बजे चितवन मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । पिसाब तथा स्वाशप्रस्वास सम्बन्धि उपचारका लागि अस्पताल पुगेकी उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, निर्देशनालयद्धारा जारी विज्ञप्तीमा गोरखाकाे बारपाक सुलिकोट-६ निबासी ४५ बर्षीय कोरोना संक्रमित महिलाको बयोधा अस्पताल, काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको उल्लेख छ । मृतक किड्नी सम्बन्धि समस्यामा रहेकाे निर्देशनालयले जनाएको छ । |
यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३०४७ (निको हुने दर ७१.९१% ) रहेको निर्देशनालयले जनाएको छ ।
यसै गरि मंगलबार क्षयरोग उपचार केन्द्र, पोखरा र बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल, चितवनमा गरिएको परिक्षणका क्रममा बर्दघाट सुस्तापूर्ब नवलपरासीमा २ र तनहुँका २ जना गरि थप ४ जना संक्रमित भेटिएको निर्देशनालयले जनाएको हो ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२४३ (२ जना मृतकको समेत) पुगेको छ ।
प्रकाशित मिति २०७७ असोज २० गते मंगलबार ११:२८




