काठमाण्डौ । गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प गइरहेको छ । मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो । राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चारसय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।
शनिवार हिजो बेलुकी मात्रै बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।भट्टराईका अनुसार नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्छ । त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले जोखिम धेरै छ ।
भूकम्पविद् भट्टराईका अनुसार पश्चिमी क्षेत्रमा थुप्रिएको शक्ति अहिले गइरहेको स– साना भूकम्प वा परकम्प पछि तितरबितर पनि हुनसक्छ र नहुन पनि सक्छ, दुवै सम्भावना छ । त्यसैले जोखिम उच्च नै रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दाले विशेष सावधानी अपनाउनु आवश्यक छ । डोटीमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि सुदूरपश्चिमका कतिपय घर चर्किएका छन् ।
स्थानीय बासिन्दाहरु अझै पनि चर्किएका घरमा नै बस्न बाध्य छन् । लगातारको परकम्पले कमजोर संरचनामा बनाइएका घरसहित भौतिक संरचना भत्किने जोखिम धेरै हुन्छ । यसले गर्दा सुरक्षित र सचेत रहन भूकम्पविद् भट्टराईको आग्रह छ ।
सुदूरपश्चिमका ग्रामीण क्षेत्रका धेरैजसो घर ढुङ्गा र माटोबाट बनेका छन् । भूकम्प जाँदा यस्ता घरहरु भत्किने सम्भावना धेरै रहन्छ । गएको मङ्गलवार गएको भूकम्पका कारण यस्तै कच्ची घरहरु भत्किएका थिए । भूकम्पमा परेर डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति २०७९ कात्तिक २७ गते आइतबार १०:३९




