पोखरा
जिल्ला प्रहरी कार्यालय विभिन्न खालका नक्कली सुन धितो राखेर ऋण लिने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत कुश्मा घर भई हाल पोखरा–२५, सराङकोट बस्दै आएका २५ वर्षीय अभिषेक सुनार छन् ।
सुनारले पटकपटक गरी पोखरास्थित राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट २४ लाख ५ हजार रुपैयाँभन्दा बढी रकम ऋणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीका अनुसार सुनारले नक्कली सुन धितो राखेर पोखरा–१७, विरौटास्थित राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र सोही बैंककै पोखरा–८, पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार रुपैयाँ ऋण लिएका थिए ।
पटकपटक ऋण लिएर समयमै ऋणको ब्याज तथा सावाँ बुझाउन नआएपछि शंकाका आधारमा सुनारले धितो राखेको सुन कमसल भएको खुलेको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका क्रममा निजले धितो राखेको सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँच गर्न पठाइएको थियो,’ डिएसपी तिवारीले भने, ‘धितो राखिएका गहना नक्कली सुनबाट तयार पारिएको परीक्षण प्रतिवेदन पाइसक्यौं ।’
सुनारलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७९ कात्तिक २८ गते सोमबार ०६:०३




