पोखरा
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कास्की ३ का उम्मेदवार रामजी बराल कोषलाई तिर्नुपर्ने दायित्वबाट मुक्त भएको प्रस्ट पारेको छ । बराल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि स्वरोजगार कोषले निर्वाचन कार्यालय कास्कीलाई पत्राचार गर्दै दायित्वबाट मुक्त भएको प्रस्ट पारेको हो ।
पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बराल कालो सूचीमा रहेको भन्दै बुधबार निर्वाचन आयोगमा उजुरी परेको थियो । युवा तथा खेलकुद मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएकाले बराल कालोसूचीमा रहेकाले कारबाही हुनुपर्ने माग राख्दै बोधराज सुवेदीले उजुरी दिएका हुन् । गण्डकी माछापुच्छ«े सञ्चार सहकारीले २०६९ चैत १२ गते ५० लाख रुपैयाँ कोषबाट ऋण लिएको थियो ।रकम नतिरेपछि कोषले सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण उपसमितिका पदाधिकारी गरेर १५ जनालाई २०७६ माघ १ गते कालो सूचीमा राखेको हो । कोषले निर्वाचन कार्यालय कास्कीले लेखेको पत्रमा गएको जेठ २ गते तिर्न बाँकी चुक्ता गरेको उल्लेख छ ।
निर्वाचन कार्यालयले बरालसँग ७ दिने स्पष्टिकरण सोधेको छ । कोषले पठाएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारीक रुपमा प्राप्त नभएको जनाएको छ ।





