पोखरा । कास्कीको मादी गाउँपालिकाको आठौँ कार्यपालिका बैठक पर्यटकीय डाँडा क्रपुमा बसेको छ । मादी गाउँपालिकाभित्रका पर्यटकीय एवं धार्मिक स्थलहरूमा घुम्ती बैठक बस्ने कार्यक्रमअन्तर्गत मादी–२ क्रपु डाँडामा शनिबार कार्यपालिका बैठक बसेको हो ।
बैठकले गाउँपालिकाको हिउँदे अधिवेशन यही पौष ६ र ७ गते गर्ने र गाउँपालिका मातहत उद्यम विकास समिति, योजना तथा कार्यक्रम अनुगमन समिति गठन गर्ने निर्णय गरेको मादी–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले ताङतिङदेखि क्रपु डाँडाको ग्रामीण सडक स्तरोन्नति गर्ने, सिक्लेस–क्हफुचे हिमताल–त्हि हुँदै तारा हिलटप पदमार्गको विकास गर्ने निर्णय गरेको छ । यसलाई दुईदेखि तीन दिनको पदमार्गका रुपमा विकास गर्ने योजना गाउँपालिकाको छ ।
आगामी दिनमा पनि कार्यपालिका बैठक गाउँपालिकाभित्रका धार्मिकस्थल लम्तरी, विश्वकै होचो स्थानमा रहेको हिमताल क्हफुचे, थाकहिल, कोरी, गुरुङहरूको पैतृक थलो क्वहोलासोथारलगायत ठाउँहरूमा बस्ने गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले बताए ।
प्रकाशित मिति २०७९ मंसिर १७ गते शनिबार ०५:०५




