२०८३ साउन २१ गते बिहीबार

चुनाव जितेपछि विद्याले भेटिन् प्रतिस्पर्धी, मागिन् सुझाव

चुनाव जितेपछि विद्याले भेटिन् प्रतिस्पर्धी, मागिन् सुझाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २० गते मंगलबार १२:०८

पोखरा । कास्की २ बाट गत ४ मंसिरको चुनावमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले आफ्ना प्रतिस्पर्धीसँग भेटघाट गरेकी छन् । विद्याले सोमबार प्रतिस्पर्धीसँग डेढ घण्टा भएको भेटमा आफूले गर्नुपर्ने...

पोखरा । कास्की २ बाट गत ४ मंसिरको चुनावमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले आफ्ना प्रतिस्पर्धीसँग भेटघाट गरेकी छन् ।

विद्याले सोमबार प्रतिस्पर्धीसँग डेढ घण्टा भएको भेटमा आफूले गर्नुपर्ने कामबारे सुझाव मागेकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनकबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका श्रीनाथ बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तसँग निर्वाचित भट्टराईले भेटेकी हुन् ।

विद्यालाई चुनावका प्रतिस्पर्धीले एक दर्जनभन्दा बढी सुझाव दिएका छन् । विकास आयोजनाको प्रभावकारी अनुगमन, सरकारी अस्पतालहरुको स्तरोन्नति, कम्तिमा वर्षको एकपटक सबै नागरिकको पूर्ण शारीरिक स्वास्थ्य परीक्षण, सम–विकासको अवधारणामार्फत शिक्षा क्षेत्रको सुधार, पर्यटकीय राजधानी घोषणा गरेर पोखराको समृद्धिमा जोड दिन, प्रभावकारी नीति निर्माणमा संसदमा सक्रिय रहन, पोखरा विमानस्थल शीघ्र सञ्चालन, कोभिडपछि पर्यटन व्यवसायीमा परेको समस्या सम्बोधनमा पहल, बिरौटादेखि पुँडिटारसम्मको सडक स्तरोन्नतिलगायत विषयमा ध्यान दिन प्रतिस्पर्धी उम्मेदवारले सुझाव दिएका छन् ।

स्वतन्त्र पार्टीका उम्मेदवार कँडेलले ठूला पार्टीले चुनावी खर्च धेरै गरेको विषय भेटमा उठाएका थिए । उनले एमालेकी उम्मेदवार भट्टराई र समाजवादीका बराललाई लक्षित गरेर ठूला पार्टीले धेरै खर्च गरेको विषय राखेका थिए । उनले भने, ‘यो प्रजातन्त्र मर्मको विपरीत भइरहेको छ भनेँ । त्यसमा त्यति चासो दिनुभएन ।’

उक्त भेटमा नेकपा एमाले कास्की क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष तेजनारायण अधिकारी र राप्रपाका नेता हरि बराल पनि सहभागी थिए ।

४ मंसिरको चुनावमा भट्टराई निकटतम प्रतिस्पर्धी कँडेलभन्दा ४ हजार ५०३ मत बढी ल्याएर विद्या निर्वाचित भएकी थिइन् । भट्टराईले १६ हजार ९९८ र कँडेलले १२ हजार ४९५ मत पाएको निर्वाचन आयोगको तथ्यांक छ । कास्की निर्वाचन क्षेत्र २ मा १६ जना प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति २०७९ मंसिर २० गते मंगलबार १२:०८
हजुरको प्रतिक्रिया