२०८३ साउन २१ गते बिहीबार

पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यः उपराष्ट्रपति पुन

पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यः उपराष्ट्रपति पुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २४ गते शनिबार ०३:२८

नेपाल आउने अधिकांश पर्यटकको चाहना पर्वतीय पर्यटनको अनुभव लिने रहेको उपराष्ट्रपति पुनको भनाई छ ।

पोखरा

उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । शनिबार पोखरामा सुरु भएको सातौं पर्वतीय महोत्सवको उद्घाटन गर्दै उनले नेपालको सम्बृद्धी र आर्थिक विकासको आधार पर्यटन भएको बताए ।

नेपाल आउने अधिकांश पर्यटकको चाहना पर्वतीय पर्यटनको अनुभव लिने रहेको उपराष्ट्रपति पुनको भनाई छ । उनले भने, ‘यसकारण पर्वतारोहण र पदयात्रालाई समग्र पर्यटनको मेरुदण्ड मान्न सक्दछौं ।’ विदेशी आरोहीको सपना नेपालका हिमाल चढ्ने रहेको उनले बताए ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले पर्वतीय श्रृृंखलालाई जोगाउने चुनौती खडा भएको बताए । ग्लोबल वार्मिङको समस्या शक्ति राष्ट्रले सिर्जना गरेको उनको भनाई छ । ‘पर्यटनालाई जोगाउन हिमालय बचाउन पर्छ’, उनले भने ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा प्रत्येक वर्ष मनाउँदै आएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको हो ।

नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सव आइतबारसम्म पोखरा महानगरपालिका –१७ रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हुँदैछ । महोत्सवमा हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राखि विविध कार्यक्रम तय भएका छन् ।

महोत्सवमा सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर रुपमा कसरी बनाउन सकिन्छ जस्ता विषयमा चर्चा हुनेछ ।

तस्बिर सौजन्यः राधिका कँडेल

प्रकाशित मिति २०७९ मंसिर २४ गते शनिबार ०३:२८
हजुरको प्रतिक्रिया