नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आउने भएपछि गोरखा–२ छोडेर प्रदेश सभा २ मा झरेको बताउने सुरेन्द्र पाण्डे गण्डकी प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र आफैं नै मुख्यमन्त्री बन्ने दाबी गर्छन् । ३ कार्यकालसम्म केन्द्रीय सदस्यमा निर्वाचित कांग्रेस सभापति देउवा समूहका पाण्डे मुख्यमन्त्रीको दौडमा एक्ला आकांक्षी भने होइनन् ।
मुख्यमन्त्री बन्ने दौडमा देउवा समूहकै कास्कीका विन्दुकुमार थापा पनि छन् । देउवा इतर समूहबाट स्याङ्जाका भोजराज अर्याल जुनसुकै हालतमा संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने दाउमा काठमाडौंमै नेताहरुसँग लबिइङ गरिरहेका छन् । नवलपुरबाट सांसद बनेका महेन्द्रध्वज जिसी पनि आकांक्षी छन् । तर, आफूलाई मुख्यमन्त्री बनाउनेबारे प्रचण्डले वचनै दिएको र नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराईकोसमेतको जोडबलमा देउवाले दलको नेता बनाउन चाहेको उनको दाबी छ ।
६० सदस्यी प्रदेश सभामा कांग्रेसले २७ सिट जितेको छ भने माओवादीको ८ सिट छ । मनाङबाट स्वतन्त्र जितेका दीपक मनाङे एकीकृत समाजवादी पार्टी प्रवेश गरेर संसद छिर्दैछन् । यस्तो अवस्थामा सरकारका लागि गठबन्धनको सहज बहुमत देखिन्छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने र कांग्रेस संसदीय दलको नेता बनेर आफू नै मुख्यमन्त्री हुने पाण्डे बताउँछन् । गण्डकीमा एमालेको २२ र राप्रपाको २ सिट छ ।
गण्डकीमा सरकार समीकरण कसरी बन्छ, कांग्रेस संसदीय दलको नेता को बन्छ लगायतका विषयमा कांग्रेस केन्द्रीय सदस्य तथा दलको नेताको आकांक्षी सुरेन्द्र पाण्डेसँग गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत छ ।
दलको नेता हुँदै मुख्यमन्त्री बन्न दौडधुप चलिरहँदा तपाईं काठमाडौंमै कसरत गर्दै हुनुहुन्छ हो ?
म काठमाडौंमा नै छु, नेताहरुसँग कुरा चाहिँ भइरहेकै छ । बल्ल समानुपातिकको नाम फाइनल हुने क्रममा छ । अन्तिम चुनावी घोषणा भइसकेपछि मात्र सरकार समीकरण र प्रदेशको भागबन्डा होला ।
माओवादीले पनि सरकारको दाबी गरिरहेकै छ, सबैभन्दा ठूलो दल कांग्रेसको धारणा के छ ?
अघिल्लो पटक १५ सांसद हुँदा त गठबन्धनबाट सरकारको नेतृत्व गरेको कांग्रेसले यसपटक तेब्बर बढी २७ सीट ल्याउन सफल भयो । गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने हो । गण्डकीमा गठबन्धनबाट कांग्रेस नेतृत्वमा माओवादीसहितको सरकार बन्छ । अहिले फेरि स्वतन्त्र सांसद जितेका दीपक मनाङे पनि सिंगै पार्टी लिएर आएका छन् । सबै मिलाउनुपर्ने होला ।
तपाईंलाई मुख्यमन्त्रीको रुपमा हेरिएको छ तर कांग्रेसभित्रै आकांक्षी बढिरहनुभएको छ, के भन्नुहुन्छ ?
आकांक्षा राख्न त सबै सांसदले पाए । सरकार निर्माणको विषयमा नेताहरुसँग केही कुरा भएकै छैन । सबै परिणाम आइसकेपछि प्याकेजमा डिल गर्ने भनिरहेका छन्, नेताहरुले । कहाँ गठबन्धनको कसरी मिलाउने भन्ने एकमुष्ठ डिल हुन्छ भन्ने कुरा आइरहेको छ ।
प्रचण्ड र बाबुरामले नै तपाईंलाई अबको मुख्यमन्त्री भनेर सार्वजनिक भाषण गरेकाले पनि तपाईंको आत्मबल बढेको हो ?
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गण्डकी प्रदेशमा माओवादीको दाबी रहन्नँ, यहाँ कांग्रेसलाई नै हो भन्नुभएको थियो । त्यतिमात्रै होइन, कांग्रेसबाट गण्डकीको मुख्यमन्त्री सुरेन्द्र पाण्डे र देशकै प्रधानमन्त्री हुने ‘प्रचण्ड’लाई पनि गोरखाले पाउँदै छ भनेर उहाँले भाषणै गर्नुभएको हो । सुरेन्द्रजीलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति देउवासँग कुरा गरिसकेकोसमेत प्रचण्डले बताउनुभएको छ । अर्का नेता बाबुराम भट्टराईले पनि पटक पटक मलाई अबको मुख्यमन्त्री भन्नुभएको छ । प्रचण्ड र बाबुरामको समेत जोडबलमा त्यसैले देउवाले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा दलका नेता बनाउने निर्णय मलाई नै गर्नुहुन्छ ।
कांग्रेसभित्र पनि कास्कीका विन्दुकुमार थापादेखि स्याङ्जाका भोजराज अर्याल, नवलपुरका महेन्द्रध्वज जिसीसम्मको नाम चर्चामा छ नि ?
प्रत्येक सांसदलाई म मुख्यमन्त्री हुन्छु भन्ने अधिकार छ । म पनि दाबेदार हुँ भन्नमात्रैका लागि त के ठूलो कुरा भयो र ? तर, भयो भने मेरै नाममा सर्वसम्मत हुन्छ, भएन भने चुनाव हुन्छ र फेरि पनि दलको नेता हुँदै मुख्यमन्त्री बन्ने मै हुँ ।
मै हुँ, मबाहेक अरु हुँदैन भन्ने के आधारमा दाबी हो, तपाईंको ?
पहिलो कुरा त म नेताहरुकै आग्रहमा प्रदेश झरेको हुँ । म लगातार ३ कार्यकालदेखि केन्द्रीय सदस्यमा निर्वाचित छु । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भएर काम गरिसकेकाले पनि म सबैभन्दा बलियो दाबेदार हुँ । अनुभव र सिनियर नेता भएका कारण पनि गण्डकीमा मेरै नेतृत्वमा सरकार बन्छ भन्ने हो । अरु नेताहरुले पनि आकांक्षा राख्ने कुरालाई सम्मान गर्नुपर्छ ।
प्रकाशित मिति २०७९ मंसिर २४ गते शनिबार ०९:२७




