प्रदेश कमिटी नै गठन गरेर ठगी
पोखरा । सुकुम्बासीलाई जग्गा मिलाइदिने भन्दै ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जग्गा मिलाइदिने भन्दै ठगि गर्ने गिरोहका नाइके हीराबहादुर तामाङसहित पाँचजनाको टोलीले सुकुम्बासी समाधान आयोग गण्डकी प्रदेश नै गठनसमेत गरेको पाइएको छ ।
जबकि, यसको प्रदेशस्तरको संरचना छैन । टोली गठन मात्रै होइन, पोखरा महानगरपालिका १४, भोटेचौतारामा रहेको तीन सय रोपनी जमिन एक सय ६० घरपरिवारलाई व्यवस्थापन गर्ने प्रलोभन देखाएर नागरिकताको प्रतिलिपि र रकमसमेत उठाएको प्रमाण भेटेको कास्की प्रहरी प्रमुख (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुले ठगी गरेको रकमको अधकट्टीसमेत भेटिएको श्रेष्ठले जानकारी दिए ।
सामाजिक सन्जालमा चर्चा भएपछि गृह मन्त्रालयले नै कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । आइतबार प्रशासनले प्रहरीलाई घटनाबारे बुझ्न भनेको थियो । प्रशासनबाट चिठी आउनुपूर्वै गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नागरिकताको प्रतिलिपिसहित उक्त गिरोहले प्रतिपरिवार सात हजार रुपैयाँका दरले रकम संकलन गरेको पाइएको छ ।
गिरोहका नाइके तामाङले सुकुम्बासी समस्या समाधान आयोगको गण्डकी प्रदेश कमिटी गठन गरेर समितिमा रमेश परियार, सीता सुनार, देवकुमार श्रेष्ठ, हर्कबहादुर विक, विमला रोका, रिति विश्वकर्मा, सोनु परियार र मौसम सदाशंकरलाई राखेका थिए ।
समितिको नामबाट उनीहरुले सुकुम्बासीलाई पत्र पठाएर पोखरा महानगरपालिका १४, भोटेचौतारामा रहेको तीन सय रोपनीमा एक सय ६० घर-परिवारलाई व्यवस्थापन गर्ने प्रलोभन देखाइएको छ । जसमा २५ असोजभित्र आर्थिक, नैतिक र भौतिक सहयोग गर्न आग्रह गरिएको छ । समितिले प्रतिपरिवार सात हजार रुपैयाँका दरले पैसा मागेको जनाएको छ ।
उनीहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको र पत्रकार सम्मेलनमार्फत थप जानकारी दिइने कास्की प्रहरीले बताएको छ ।




