पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यालयमा १० दिनदेखि लागेको ताला खुलेको छ । राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त प्रयासमा बुधबार ताला खुलेको हो ।
राप्रपाले गण्डकी प्रदेश सभामा पाएको २ जना समानुपातिक सांसद कास्कीभन्दा बाहिरी जिल्लाबाट चयन गरिएको भन्दै विवाद उत्पन्न भएको थियो । विवादका कारण कास्कीका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए ।
राप्रपाले गण्डकीमा ५९ हजार ४८३ मत पाएका थिए । प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेको राप्रपाले समानुपातिकमा २ जना सांसद पाएको थियो । गण्डकी प्रदेश सभामा राप्रपाबाट समानुपातिकबाट प्रदेश अध्यक्ष पञ्चराम गुरुङ र केन्द्रीय सदस्य विन्दु पहाडी निर्वाचित भएका थिए ।
राप्रपा गण्डकीका अध्यक्ष गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेपछि ताला खुलेको हो । पार्टीभित्र देखिएका समस्या छलफलबाट समाधान निकाल्ने, आगामी दिनमा त्रुटि सच्याउने र पार्टी कार्यालयलाई चुस्त राख्ने सहमति भएपछि कार्यालय खुलेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०६:१९




