पोखरा । नेपाली विद्यार्थीलाई पढाइ सकेपछि जागिरको टेन्सन हुन्छ । जागिर खोज्दै फाइल बोकेर कम्पनी–कम्पनी भौतारिनुपर्छ । इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) पोखराले कलेजमै अन्तर्वार्ता दिएर जागिरको चाँजोपाँजो मिलाएको छ ।
पोखरा–१५ स्थित कलेजले बिहीबार ‘जब फेयर’ गरेर कलेजमै बैंक, होटल, इन्टरनेट, आइटी कम्पनीलगायतमा जागिरका लागि अन्तर्वार्ता दिने व्यवस्था मिलाएको हो ।
विद्यार्थीको अन्तर्वार्ता लिन एनएमबी बैंक, होटल सरोवर, फुडमाण्डु, भायनेट, बिज बजार, आइमार्क डिजिटरजस्ता कम्पनीका प्रतिनिधि कलेज नै पुगेका थिए । त्यहाँ कलेजका विद्यार्थीले कम्पनीको स्टलमै पुगेर अन्तर्वार्ता दिए ।
विद्यार्थीको पढेकै विषयअनुसारको काम पाउने गरी कलेजले कोसेढुंगाको काम गरेको फेयर संयोजक सुष्मा रञ्जितले बताइन् । ‘विद्यार्थीको शिक्षामात्रै नभई करिअरलाई ध्यान दिएर कार्यक्रम भएको हो । हाम्रो कलेजका विद्यार्थीलाई विभिन्न कम्पनीमा आबद्ध गराउन कार्यक्रम आयोजना गरेका हौँ । कलेजले विद्यार्थीलाई उत्साह जगाएको छ,’ उनले भनिन् । कम्पनीले खोजेअनुसारकै जनशक्ति कलेजमा रहेको र यसले विद्यार्थीलाई काम पाउन सजिलो भएको उनको भनाइ छ ।
विद्यार्थी पनि कलेजमै विभिन्न कम्पनीमा अन्तर्वार्ता दिन पाउँदा खुसी देखिन्थे । विद्यार्थी अस्मिता थापाले कलेजमै अन्तर्वार्ता दिन पाउँदा र अन्तर्वार्ताको प्रक्रिया जानकारी लिन पाउँदा खुसी लागेको सुनाइन् । उनले भनिन्, ‘विभिन्न कम्पनी कलेजमै आएर काम गर्नका लागि अन्तर्वार्ता दिने अवसर मिल्यो । अन्तर्वार्तामा कस्ता प्रश्न सोधिन्छ भन्ने पनि थाहा भयो । कम्पनीले कस्ता कर्मचारी खोज्छन् भन्ने थाहा भयो । कलेजलाई धेरैधेरै धन्यवाद ।’
कलेजका ४० जनाभन्दा बढी विद्यार्थीले बिहीबार विभिन्न कम्पनीमा अन्तर्वार्ता दिएका छन् । अब ती कम्पनीले आवश्यकताअनुसार अन्तर्वार्ता दिएका विद्यार्थी छनोट गर्ने छन् ।
नेपालमै गुणस्तरीय ब्रिटिस डिग्री प्रदान गर्ने उद्देश्यका साथ सन् २०११ मा आइएसएमटी कलेज स्थापना भएको हो ।
यस संस्थाले तीन विषयमा स्नातक तह अध्यापन गराउँदै आएको छ । कलेजमा ब्याचलर इन कम्प्युटिङ एन्ड आइटी, ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट र ब्याचलर इन बिजनेस विषय अध्यापन भइरहेको छ । आइएसएमटी कलेज पोखरासहित काठमाडौँ, विराटनगर, बुटवल, चितवनमा सञ्चालित छ ।
प्रकाशित मिति २०७९ पुस ७ गते बिहीबार ०३:३५




