२०८३ साउन २१ गते बिहीबार

केपी ओलीले पोखरा जेलमा रचेको थिए ‘खर्पन’ कविता

केपी ओलीले पोखरा जेलमा रचेको थिए ‘खर्पन’ कविता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ८ गते शुक्रबार ०३:३८

‘पोखरा जेलमा बस्दा कपडा बुन्न सिकेको थिएँ । लुगा बनाएर बाहिर रहेका दिदीबहिनीलाई पनि पठाउँथे । फुर्सद र समय भयो भने जहाँ जे मन लाग्छ त्यो काम गर्छु ।’

पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय सकिन दुई दिन बाँकी छ । पुस ३ गते एक साताको समय दिएर भण्डारीले सरकार गठनको आह्वान गरेकी थिइन् । दलहरु सरकार गठनका लागि दौडधुपमा छन् । सत्तारुढ दललाई बढी चटारो छ ।

दोस्रो शक्ति नेकपा एमाले पनि गठबन्धन भत्काएर नयाँ सरकार बनाउने मुडमा नभएको होइन । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने सरकार बनाउने रस्साकस्सी छाडेर पोखरा आएका छन् । ओली राजनीतिक कार्यक्रममा सहभागि हुनलाई पोखरा आएका होइनन् । बुकवर्म फाउण्डेसनले आयोजना गरेको १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन ओली पोखरा आएका हुन् ।

ओलि ‘राजनीतिबाहिरको जीवन’ बारे पत्रकार अखण्ड भण्डारीसँग गफिए । फेवाताल किनार बाराहीघाटमा ओलीको गैरराजनीतिक जिवन खोतल्ने प्रयास भयो ।

‘म यही खर्पनमा हालेर हरदिन बेलुका
वितेका थोत्रा मैलो दिनलाई विदा गर्छु
म यही खर्पनमा थापेर हरदिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु..।’

साहित्यिक माहौलमा भण्डारीले ओलीको कविता ‘खर्पन’ को केही हरफ सुनाएर प्रश्न गरे, ‘यो कुन सन्दर्भमा लेख्नुभएको थियो ?’ जवाफमा ओलीले भने, ‘म पोखरा जेलमा थिए । पोखरामा त्यति खर्पन बोक्ने चलन थियो जस्तो मलाई लागेको थिएन । त्यसबेला एकजना व्यक्ति सागसब्जीहरु खर्पनमा बोकेर जेलको गेट अगाडि आए । मैले उनलाई देखे । अनि मैले उनी भएर कविता यो कविता लेखे ।’

ओलिले यो कविता २०४१ सालमा लेखेका हुन् । आफुलाई खर्पन बोक्नेमा परिणत गरेर कविता रचेको उनले बताए । कविता लेख्नु अगावै खर्पन बोकेको मान्छेको स्केच बनाएको ओलीले स्मरण गरे । उनले आफु जहाँ पुग्यो त्यहाँ केही न केही लेखेर छाड्ने गरेको बताए । आफुले जेल जीवनमा गरेका सिर्जनाहरु लुटिएकोसमेत बताउँछन् ।

पोखरा जेलमा उनले कपडा बुन्नसमेत सिकेको बताउँछन् । ‘मलाई बत्ती कात्न टपरी गाँस्न र गुन्द्री बुन्न आउँछ । म जे काम पनि सिक्ने मान्छे । पोखरा जेलमा बस्दा कपडा बुन्न सिकेको थिएँ । लुगा बनाएर बाहिर रहेका दिदीबहिनीलाई पनि पठाउँथे । फुर्सद र समय भयो भने जहाँ जे मन लाग्छ त्यो काम गर्छु ।’

ओलीले लेखेको शिशिर योगीले संगीत भरेर गाएको ‘म त भाग्यमानी गीत’ को चर्चा केही बेर भयो । उनले भान्छामा सघाउने, खेल खेल्नसँगै केही रमाइलो किस्साहरु सुनाए ।

 

प्रकाशित मिति २०७९ पुस ८ गते शुक्रबार ०३:३८
हजुरको प्रतिक्रिया