पोखरा
पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विष्णु बास्तोलाको निधन भएको छ । बास्तोलाको ६४ वर्षको उमेरमा बुधबार बिहान करिब ४ बजे पोखरा-९ मा रहेको आफ्नै निवासमा निधन भएको हो ।
विगत केही समयदेखि उनका दुबै मिर्गौलाले काम नगरेपछि डायलसिस भइरहेको थियो । नेपाली कांग्रेस कास्कीको कार्यवाहाक सभापति भइसकेका बास्तोलाले पोखरा उपत्यका नगर विकास समितिमा २०६१, २०६७ र २०७० सालमा गरी ३ पटक अध्यक्ष भएर काम गरेका थिए ।
बास्तोला साविक पोखरा उपमहानगरपालिका वडा नम्बर ९ को पूर्व वडाध्यक्ष पनि हुन् । उनले पोखरा बहुमुखी क्याम्पस, महेन्द्र मावि र नवप्रभात माविको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए ।
बास्तोलाको सेती नदी किनारमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस वडा नम्बर ९ का सभापति शिवराज बास्तोलाले जानकारी दिए । स्वर्गीय बास्तोलाका एक छोरा, एक छोरी र श्रीमती छन् ।
नेपाली कांग्रेसबाट पाेखरा उपत्यका नगर विकास समितिकाे अध्यक्ष हुँदा बास्तोलालाई पोखरा बसपार्क लगायतका जग्गा व्यक्तिलाई किनबेच गरेको, भाडामा तथा विभिन्न व्यक्ति र संस्थालाई प्रयोग गर्न दिएको लगायत आरोपसमेत लागेका थियाे ।
प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०९:०८




