पोखरा । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदहरूलाई शपथ लिएपछि प्रदेश सभा सचिवालयले एउटा कालो रंगको झोला र लोगो दिएको थियो ।
‘माननीय’हरूलाई दिइएको झोलामा के–के थियो होला ? प्रदेश सभा सचिवालयकाअनुसार त्यो झोलामा प्रदेशले अहिलेसम्म बनाएको ऐनको संग्रह, गण्डकी प्रदेश सचिवालयले निकालेको स्मारिका, प्रदेश सभा सञ्चालन नियमावली र कपडामा टाँस्ने नेपालको झण्डा छ ।
सांसदहरूलाई बुधबार दिइएको उक्त लोगोको मूल्य एउटाको ६ हजार ७५० रूपैयाँ परेको छ । अघिल्लो कार्यकालमा सुन लेपन गरिएको थियो भने अहिले त्यस्तो छैन । यसपटक सुनजस्तै देखिने वस्तु अर्थात् पित्तलको लोगो दिइएको हो ।
यो लोगो चीनमा बनाएर ल्याइएको हो । नेपालमै बनाउने प्रयास गरे पनि बनाउने ठाउँ नभेटिएपछि चीनबाट मगाइएको संसद सचिवालयका सचिव हरिराज पोखरेलले बताए ।
गण्डकी प्रदेश सभाका ५९ जना सांसदले बिहीबार ज्येष्ठ सदस्य मित्रलाल बस्यालबाट शपथ लिएका छन् । ज्येष्ठ सदस्य बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका थिए ।
प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०९:०७