२०८३ साउन २१ गते बिहीबार

फेवा तालमा घट्न थाल्यो माछाको सङ्ख्या

फेवा तालमा घट्न थाल्यो माछाको सङ्ख्या

दुर्गा राना मगर

@Public 4K Tv

२०७९ पुस २१ गते बिहीबार ०२:२२

नेपालमा माछामा निर्भर रहेका समुदायमा अधिकांश महिला छन् । माछाको संरक्षण हुन नसक्दा यसकोे असर माछामा निर्भर आदिवासी महिलामा पर्ने अध्ययनमा उल्लेख छ ।

पोखरा

फेवातालमा केही वर्षयता माछा कम हुन थालेका छन् । माछा मारेर जिविकोपार्जन गर्ने जलारी समुदाय जालमा माछा कम पर्न थालेपछि चिन्तित छन् । यसै कारण जलारी समुदायभित्रका पुरुषहरु केही विदेशिएका छन्, युवा वर्ग अरु रोजगार तर्फ जान थालेका छन् । जलारी महिला भने घरमा बालबच्चा हेर्नुपर्ने स्थितिले बाहिर जान सकेका छैनन् । अहिले जलारी महिला माछा मारेर, बिक्रि गरेर जति कमाइ गर्छन् त्यसलाई पुर्याएर खर्च गर्न थालेका छन् । वर्षौदेखि नै जलारी समुदायमा पुरुषको काम माछा मार्ने हुन्छ भने महिलाको काम त्यसलाई लगेर बजारमा बेच्ने ।

कास्कीमा वार्षिक पाँच सय टन माछा उत्पादन हुने गरेको छ । तर पोखराको माग भने उत्पादनको दोब्बर छ । बेगनास मत्स्य अनुसन्धान केन्द्रको तथ्यांङ्क अनुसार फेवा तालमा ०७२/७३ मा ६४, ०७३/७४ मा ६०, ०७४/७५ मा ५२.५, ०७५/०७६ मा ४३.४, ०७६/०७७ मा ४३.०१, ०७७/०७८ मा ४५.९३ र ०७८/०७९ मा ४१.४ मेट्रिक टन माछा उत्पादन भएको छ । तथ्याङ्कले वार्षिक रुपमा फेवातालमा माछाको उत्पादन घटेको देखाउँछ । फेवा तालमा रैथाने जातका माछा सहर, कत्ले, रेवा, फगेटा, बामगरि १० भन्दा बढी छन् भने विदेशी माछा तिलापिया, सिसा माछा, विगहेड, अफ्रिकन मांगुरलगायतका छन् । हाल फेवा तालमा थुप्रै रैथाने माछा लोप हुने अवस्थामा छन् ।

कास्कीको फेवातालसहित नौ वटै ताल रामसार क्षेत्रमा सुचिकृत छ । प्राकृतिक सौन्दर्यताका साथै वातावरणीय हिसाबले पनि यी तालले महत्व राख्छन् । यी ताल मध्ये विशेषत् फेवा, बेगनास र रुपातालमा मत्सय पालन व्यवस्थित रुपमा अघि बढेको छ । फेवा र बेगनास वरपर जलारी समुदायको बसोबास बाक्लो छ । फेवातालमा ९१ घर जलारी समुदायको छ भने बेगनासमा करिब ३० घर ।

जलारी समुदाय र माछाको लामो इतिहास छ । वर्षौदेखि जलारी समुदाय जिविकोपार्जनका लागि माछा पालनमा मात्र निर्भर छन् । आईयुसिएनको एक अध्ययनले नै नेपालमा १०.०८ प्रतिशत जनसङ्ख्या नदिनाला, तालतलैयामा निर्भर रहेको बताँउछ । तीनै समुदाय मध्यको एक हो जलारी समुदाय । जिविकोपार्जनका लागि माछामा निर्भर रहने जलारी समुदायका लागि तालमा नै माछा कम हुन थालेपछि भने आफ्नो परम्परागत पेशाबाट नै पलायन हुने अवस्थामा पुगेका छन् ।

जलारी समुदायले मारेको माछालाई प्रत्येक विहान हर्पन फेवा मत्सय सहकारीमा ल्याइन्छ । तीन के.जी भन्दा बढी माछा परे सहकारीमा र त्यो भन्दा कम परे आफैले बिक्रि गर्न मिल्ने नियम छ । हरेक दिन विहान ८ बजेदेखि माछा किन्न आउनेको त्यहाँ भिड लाग्छ । माछा नपाउँदा रिसाएर, झगडा गरेर जाने गरेको सहकारीका सचिव सुर्य जलारी बताउँछन् । फेवातालबाट जलारी समुदायको उठिबास लाग्ने चिन्ता उनलाई छ । सुर्य भन्छन्, ‘शिक्षा छैन, पुरुष खाडी मुलकतिर धेरै गइरहेका छन्, महिला भने बालबच्चा हेर्न घरमै बस्नै गरेका छन् । ’

उमेरले ७५ वर्ष पुगेकी सोममाया जलारी केही वर्ष अघिसम्म आफैं फेवातालमा माछाको जाल थाप्थिन् । दाँत झरेका छन्, हिडँडुल कम गर्छिन् तर माछाको कुरा गरेर भने अझै थाक्दिनन् सोममाया । अहिले उनी जाल थाप्न सक्दिनन् तर आफ्नो छोराहरुलाई माछा संकलन र बिक्रिको काममा सघाउँछिन् । सोममाया र उनको श्रीमान्ले २, ३ वटा डोकाभरि माछा दिनकै मारेको उनलाई अझै याद छ । तर अहिले दिनमा एक किलो माछा पर्न पनि मुस्किल भएको देख्दा उनी चिन्तित छिन् । उनले आफ्ना ८ सन्तानलाई माछा मारेरै हुर्काइन् । उनी भन्छिन, ‘खेतीपाती हुँदैन हामी जलारीको, यहिँ माछा हो हाम्रो सम्पत्ति । अहिले एक किलो माछा मुस्किलले पर्छ । आफू खानु कि बेच्नु ? बेच्यो भने नुन तेल किन्ने पैसा त आउँछ ।’

फेवातालमा माछा किन कम भयो ?

फेवातालमा माछा कम हुदैँ जानुमा जलारी समुदाय ताल प्रदुषण र फेवातालको क्षेत्रफल घट्दै जानुलाई देख्छन् । उनीहरु भन्छन्, ‘अहिले धान खेती देखिने ठाउँमा ताल थियो । ताल घटेको घट्यै छ । माछा किन कम नहोस् ।’ फेवाताल पुरिँदै जानु र फेवातालको ड्याम रहेको स्थान ड्यामसाइडमा बाँधको पुर्न निर्माण नहुँदा माछा बगेर अन्त जाने गरेको पनि उनीहरु बताउँछन् ।

जलारी समुदायको माछा संकलन र बिक्रिका लागि स्थापना गरेका हर्पन फेवा मत्सय सहकारीका पूर्व अध्यक्ष समेत रहेका ज्ञानबहादुर जलारीले फेवातालको मुहान हर्पन खोला र यसको शाखा खोला अधेरी, चिसो, सेदीलगायतका खोलामा प्रजननका लागि माछा जान सक्ने अवस्था नरहेको बताए । प्रजननका लागि तालको रैथाने माछा हर्पन खोलामा जाने गरेका छन् । माछाको प्रजाती हेरिकन कोहीले घाँस त कोही गिट्ययानमा प्रजनन गर्ने गरेका छन् तर अहिले प्रजननको लागि वातावरण नहुँदा माछा कम भएको उनलाई लाग्छ । माछाको प्रजनन हुने ठाउँमा बाँध निर्माण हुनु, धेरै माछा मारिनुु, अवैध रुपमा माछा मारिने क्रम बढ्नुले पनि माछा कम हुँदै गएको उनले बताए ।

विशेष गरि माछाको प्रजनन समय चैत्रदेखि सुरु भइ भदौसम्म हुने गरेको छ । जलारी समुदायले प्रजननको समयमा माछालाई असर नगर्न जेठदेखि नै हप्ताको एक दिन माछा नमार्ने निर्णय गरेका छन् । अगुवा ज्ञानबहादुरसँगै जलारी समुदायका अन्य सदस्यलाई पनि फेवातालको ड्याम रहेको ड्यामसाइडमा बलियो जाली÷तार मात्र राखे पनि माछा बगेर अन्त नजाने र फेवातालमा माछा केही बढ्न सक्ने विश्वास छ ।

 

फेवातालमा विभिन्न समयमा भएको अध्ययनले फेवातालको पानी दुषित हुनुका साथै ताल खुम्चिदै गएको बताँउछ । फेवातालमा सिल्टेश्न बढी हुँदा, तापक्रम बढेर माछाको प्रजनन हुन नसक्दा माछा कम हुँदै गएको बेगनास मत्सय अनुसन्धान केन्द्रका प्रमुख मोहम्मद इक्वाल हुसेन बताउँछन् । तीनवटा तालको तुलनामा बेगनास र रुपामा माछा बढेको तर फेवामा ताल प्रदुषित हुँदै गएका कारण कम भएको हुसेनले बताए ।

जलवायु परिवर्तनको असर

उचित तापक्रम नमिल्दा माछाले प्रजनन गर्न सक्दैनन् । जलवायु परिवर्तनको असरले कास्कीको तापक्रममा उच्च विषमता रहेको बताउँछन् मौसम विद् सुदर्शन हुमगाई । उनका अनुसार तथ्याङ्कले कास्कीमा गर्मी बढी गर्मी र चिसोमा बढी चिसो हुने ट्रेन्ड बढ्दै गएको देखिएको छ ।

जल तथा मौसम विभाग, काठमाण्डौले दिएको जानकारी अनुसार नै कास्कीको अधिकतम तापक्रम ०.०६७ डिग्रि सेल्सियसले प्रतिवर्ष बढिरहेको छ । यस्तै न्यूनतम तापक्रम पनि ०.०१८ डिग्रि सेल्यियसले बढिरहेको छ । कास्कीमा ताता दिनहरु डेढ दिनले पर चिसा रातहरु ०.३ दिनले बढिरहेको तथ्याङ्कले बढिरहेको देखाँउछ । प्रत्येक वर्ष कास्कीमा ११.४ मिलिलिटरले वर्षा कम पर्न थालेको छ । वर्षा कम भएर तालतलैयामा पानीको सतह घट्दै गएपछि तालमा निर्भर रहेका जलचर प्राणीहरु जस्तै माछामा यसको प्रत्यक्ष असर पर्ने मौसमविद् हुमगाई बताउँछन् ।

कास्कीको तापक्रमका विषयमा प्राध्यपक राजेन्द्र उपाध्ययले सन् २०१९ मा गरेको अध्ययनले भन्छ, ‘कास्की जिल्ला रहेको गण्डकी प्रदेशको भुगोल हिमालले घेरिएको छ । त्यसैले पनि जलवायु परिवर्तनको असर यहाँ देखिनु देखिएको छ । जाडोको महिनामा कास्कीको सबैभन्दा बढी प्रभावित भएको छ ।’ सन् १९७० देखि २०१८ सम्म ४८ वर्षको अन्तरमा गरिएको अध्ययनले जलवायु परिवर्तनको असर विस्तारै कास्कीमा पनि देखिँदै आएको बताउँछ ।

कृषि अनुसन्धान केन्द्रहरुको एसिया स्तरीय संस्थाले सन् २०२० मा गरेको अध्ययन प्रतिवेदनले नेपालमा जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव जलाशय वातावरणमा देखिने बताएको छ । जलवायु परिवर्तनमा नेपालले जम्मा ०.०२५ प्रतिशतमात्र असर पु¥याएतापनि यसको जोखिममा भने नेपाल संसारको चौथो अंकमा छ । नेपालको भुगोलमा पर्ने हिमाल र उच्च पहाडका कारण जलावयू परिवर्तनको असर यहाँ बढी देखिने र त्यसको प्रभाव जलचरमा पर्ने प्रतिवेदनले बताउँछ । जसबाट माछामा निर्भर रहने समुदाय सबैभन्दा बढी प्रभावित छन् । नेपालमा माछामा निर्भर रहेका समुदायमा अधिकांश महिला छन् । माछाको संरक्षण हुन नसक्दा यसकोे असर माछामा निर्भर आदिवासी महिलामा पर्ने अध्ययनमा उल्लेख छ ।

चिन्तित जलारी समुदाय

तालमा माछा कम हुँदै गएपछि घरखर्च चलाउन गाह्रो हुँदै गएको जलारी महिलाहरुको समूह माछापुच्छ्रे महिला समूहका सचिव दिपा जलारीले बताइन् । ३३ जना सदस्य रहेको समूहमा जलारी महिलाहरु पैसा बचत गर्ने र आवश्यक पर्दा ऋण लिने पनि गरेका छन् । उनले लेखापढीको समस्या भएर जलारी महिला अन्त काम गर्न नसक्ने बताइन् । उनले भनिन्, ‘हामीले पढेनौ र दुःख पायौं, त्यसैले हाम्रा बालबच्चालाई पढाउन थालेका छौं । अहिले यस्तो दुःख पर्दा पनि पढाइ नभएर अन्त काम गर्न सक्दैनौ ।’

हरेक महिनाको ५ गते माछापुच्छ्रे महिला समूहको मासिक बैठक बस्छ । घरको कामले फुर्सद निकालेर जलारी महिला फेवाताल नजिक खपौँदीनेर भेला हुन्छन् र आ–आफ्नो सुख दुःख बेसाउछन् ।

बिनु जलारी समूहमा बचत गर्न हातमा पैसा बोकेर बैठकमा आइन् । सचिव दिपालाई पैसा दिँदै पानीको काममा गाह्रो भएको उनले दुखेसो गरिन् । माछा बेच्दा हातमा परिरहने पैसा अहिले कम हुँदा घर व्यवहार धान्न बाहिर काम गर्न जाने श्रीमान्को भरपर्नु पर्ने उनले बताइन् ।

बुद्धिमाया जलारीले बिहेपछि मात्र तालमा जाल थाप्न सिकिन् । उनका श्रीमान् राजकुमार जलारीसँगै उनी हरेक दिन जाल थाप्न जान्छिन् । फेवातालको परसम्म जानुपरे डुंगामा नै रात बिताउने चाजोँ मिलाएर जान्छन् । उनलाई सुरुमा माछा मार्न जाँदा बाल्टिन भरि माछा मारेर ल्याएको याद छ । घर छेउको तालमा नै माछा आएर बसेको उनी सम्झिन्छिन् । बुद्धिमायाका सासुससुरा सुकुली जलारी र रामचन्द्र जलारी पनि डुंगामा फेवातालमा जाल थाप्न परसम्म पुग्छन् । तर माछा थोरै पर्दा दुवैको मन आजभोली खिन्न हुने गरेको छ । पहिले डुंगा भरि माछा मारेर ल्याएको उनीहरुलाई सम्झना छ । ‘अहिले १०, १२ वटा जाल राख्दा पनि माछा पर्दैन’ सुकुलीले भनिन् ।

यता मनमाया जलारी १० वर्षकी मात्र थिइन्, जब उनका मामाले तालमा माछा मार्न सिकाए । अहिले मनमाया ५७ वर्ष पुगि सकिन् । माछा मारेरै उनले दुई सन्तानलाई हुर्काइन् । उनले हेर्दा हेर्दै फेवाताल सानो हुँदै गएको छ । उनी खेल्दै पुग्ने ताल छेउ अहिले ठूला रेष्टुरेन्ट ठडिएका छन् । उनलाई यसले गर्दा पनि माछा कम हुँदै गएको हो कि भन्ने लाग्छ । उनी भन्छिन्, ‘पहिले तालमा माछा धेरै थियो तर पैसा सस्तो थियो । अहिले माछा थोरै छ, महंगोमा बेच्नुपर्छ ।’

सङ्कटमा ताल र समुदाय

कृषि विज्ञ तथा माछा विद् डा. टेकबहादुर गुरुङले तालतलैयासंग निर्भर रहि वर्षोदेखि स्वरोजगार रहेका समुदायको परम्परागत पेशा नै संकटमा पुगेपछि यसले ठूलो सामाजिक विचलन ल्याउने बताउँछन् । उनी भन्छन्, ‘यसको प्रत्यक्ष प्रभाव महिला र बालबालिकालाई पर्छ ।’

तापक्रमको वृद्धि सँगै माछाको प्रजनन जीवनचक्र वादित हुने बताउँदै गुरुङले तापक्रमको वृद्धिसंगै माछाको प्राकृतिक आहारा कम हुँदै जाने बताउँछन् । उनले भने, ‘माछाका लागि प्रजनन र प्राकृतिक आहारा सबैभन्दा महत्वपूर्ण हो । अहिले जलवायु परिवर्तन तथा मानव निर्मित प्रदुषणले त्यसमा असर पु¥याएको छ । जसले आहारा र उपलब्धता दुवैमा असर पुर्याएको छ ।’

ताल तथा यसमा निर्भर रहेका समुदायका लागि सरकारले ध्यान दिनु आवश्यक रहेको उनले बताए । जलवायुु परिवर्तनलाई रोक्न नसकेतापनि यसमा मानव निर्मित समस्याहरुको निराकरण भने गरिनुपर्ने गुरुङले बताए । वातावरण विद् अनिल सुवेदीले रामसारमा सुचिकृत फेवाताल संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले फेवातालमा अतिक्रमण, ढल मिसाउने काम हुँदा पानीमा अम्लीय पन बढ्ने गरेको र जसको असर माछाको उत्पादनशीलतामा पर्ने गरेको बताए । सुवेदीले ताल संरक्षणका लागि सरोवाला निकायको ध्यान जानुपर्ने बेला आइसकेको बताए ।

ताल संरक्षण तथा विकास प्राधिकरणका निर्देशक कल्पना देवकोटाले तालहरुमा मिचाहा प्रजाती फैलिने क्रम बढेका कारण पनि त्यहाँ रहेका जलचरलाई असर परेको बताइन् । उनले तालमा आश्रीत जलारी समुदाय र सरोकारवाला निकाय मिलेर यस समस्याको समाधान तर्फ अघि बढ्नुपर्ने बताइन् । वातावरण विद् देवराज गौतमले जलवायु परिवर्तनको असरले जलाशय, तालतलैयामा असर पर्ने बताए । पोखरी नजिक ठाउँहरुमा ग्रामीण सडक खोलिदा भुक्षय हुने गर्दा पनि असर पर्ने गरेको उनले जिकिर गर्दै यसमा संवेदनशील भएर काम गर्नुपर्ने बताए ।

जलारी समुदायले ताल संरक्षण र तालमा माछा कम भएको मुद्दालाई पटक पटक उठाएका छन् । तर त्यसतर्फ सरोकारवालाको ध्यान जान नसक्दा यो मुद्दा ओझेलमा पर्ने गरेको छ । यस वर्ष सम्पन्न भएको स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा घरदैलोमा पुगेका उम्मेदवारहरुलाई माछा कम भयो भनेर जलारी समुदायले दुखेसो पोखेका पनि थिए । यसका लागि ड्यामसाइडमा जाली बनाइदिन आश्वासन दिएको जलारी समुदायको एक सदस्यले बताए । ‘स्थानीय जनप्रतिनिधिहरुले जलारी समुदायको समस्यालाई सधै बेवास्ता नै गर्ने गरेको छ’ उनले भने ।

फेवातालमा जलवायु परिवर्तन र मानव निर्मित समस्याका कारण एकातिर ताल खुम्चिदैँ गएको छ भने अर्का तर्फ माछा कम हुँदै जाने क्रम बढ्दो छ । जसबाट प्रत्यक्ष रुपमा जलारी समुदाय प्रभावित भएका छन् । स्वरोजगार जलारी समुदाय माछा कम हुँदा आफ्नो कामबाट नै विस्थापित हुने अवस्थामा विस्तारै पुग्दैछन् ।

प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ०२:२२
हजुरको प्रतिक्रिया