मानिसहरूकाे भिडभाड हुनसक्ने सवै क्रियाकलाप नगर्न निर्देशन
पाेखरा । काेराेना संक्रमणकाे बढदाे जाेखिमका कारण सरकारले दशैमा शहरबाट गाउँ नजान र जाे जहाँ छ त्यहीँ दशै मनाउन अनुराेध गरेसंगै विभिन्न जिल्लाले दशैँमा घर जानेहरूका लागि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने तथा अनिवार्य पिसिआर परिक्षण गर्नुपर्ने आदेश जारी गर्न थालेका छन ।
चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रवेश गर्ने र साे का कारण काेराेनाकाे संक्रमण समुदायस्तरमा अझ भयावह बन्नसक्ने भन्दै बिहिबार जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै बाहिरबाट जिल्ला प्रवेश गर्दा १४ दिन अनिवार्य हाेम क्वारेन्टिनमा बस्नुपर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी हस्ताक्षरित सूचनामा हाेम क्वारेन्टिनमा बसेकाहरूकाे अनुगमन सम्वन्धित वडा अध्यक्ष वा सदस्यले गर्ने गराउने उल्लेख छ ।
जिल्ला काेभिड १९ संकट व्यवस्थापन समितिकाे बिहिबारकाे निर्णय अनुसार प्रशासनले साे सूचना जारी गरेकाे हाे ।
जारी सूचनामा भिडभाड तथा भेला, भाेजभतेर नगर्न, जुवातास नखेल्न, मानिसहरूकाे भिडभाड हुने कुनैपनि प्रकारका क्रियाकलाप नगर्न समेत अनुरोध गरिएकाे छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस अहिले समुदायस्तरमा समेत फैलिसकेको अवस्थामा चाडपर्वका बेला थप जोखिम हुने भन्दै प्रशासनले विभिन्न कार्यहरु निषेध गरेको हाे ।
प्रशासनले चाडबाडका अवसरमा राजनीतिक दल वा अन्य कुनैपनि सामाजिक संघसंस्थाहरूले कुनैपनि प्रकारका शुभकामना आदान-प्रदान, चियापान जस्ता मानिसहरूकाे भिडभाड हुने प्रकारका कार्यक्रमसमेत नगर्न अनुराेध गरेकाे छ ।





