२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा नफापेको २७ः पहिले एमालेलाई अहिले कांग्रेसलाई, खगराज मुख्यमन्त्रीनजिक

गण्डकीमा नफापेको २७ः पहिले एमालेलाई अहिले कांग्रेसलाई, खगराज मुख्यमन्त्रीनजिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २४ गते आइतबार १०:३८

२७ सिट जितेको संसदकै ठूलो दल कांग्रेस प्रतिपक्षमा पुग्दा एमाले नेतृत्वमा माओवादी, राप्रपासहित ३२ सिटले सरकार बन्ने पक्का जस्तै भएको छ ।

पाेखरा

चाहिने, नचाहिने खालको कुरा भयो भने समाजमा एउटा स्थापित भनाइ छ, ‘बाह्र, सत्ताइस् कुरा ।’ गण्डकी प्रदेशको पहिलो सरकार ‘बाह्र, सत्ताइस्’ कुरा जस्तै भयो । त्यो भनाइलेमात्र होइन कि अंकले पनि । एमाले र माओवादी मिलेर बनेको नेकपाबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बन्दा माओवादीको १२ र एमालेको २७ सांसद थिए । जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पनि समर्थन गर्दा २ तिहाई बहुमत पुगेर पनि नेकपा विवादले पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्यो ।

यसपटक एमालेले ल्याएजस्तै २७ सिट जितेको कांग्रेसको नेतृत्वमा सरकार बन्ने धेरैको अनुमान थियो । तर, केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीमा कांग्रेसलाई पनि गण्डकीमा २७ फापेन । अब भने गण्डकीमा २२ सिट जितेको एमाले नेतृत्वको सरकार बन्ने पक्काजस्तै छ । अघिल्लो पटक बाह्र सिट जितेको माओवादी अहिले ८ मा झरेको छ । अघिल्लो पटक ३ सिट ल्याएको जनमोर्चाबाट यसपटक एउटा सांसद नआउँदा २ सिटसहित राप्रपा सांसद छिरेको छ । मनाङबाट स्वतन्त्र सांसद जितेर अघिल्लोचोटी ३ पटकसम्म खेलकुद मन्त्री बनेका दीपक मनाङे यसपटक स्वतन्त्र नै जितेर पनि एकीकृत समाजवादी छिरे । तर, उनीबाहेकै पनि सरकार बन्न सक्ने भएपछि मनाङे यसपटक मन्त्री बन्ने गरी सत्ता समीकरणमा रहने अवसर नपाउन पनि सक्छन् ।

२७ सिट जितेको संसदकै ठूलो दल कांग्रेस प्रतिपक्षमा पुग्दा एमाले नेतृत्वमा माओवादी, राप्रपासहित ३२ सिटले सरकार बन्ने पक्का जस्तै भएको छ । प्रदेश १ र गण्डकी एमालेकै सरकार बन्ने पक्काजस्तै भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङ बताउँछन् । २७ सिटसहित संसदकै ठूलो दल एमालेबाट पहिलो कार्यकालमा मुख्यमन्त्री बनेर पार्टी विभाजनले सत्ताच्यूत भएपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा फेरि मुख्यमन्त्री बन्न चाहान्थे । उनलाई छेक्दै टिकट हात पारे, एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले ।

कांग्रेस, माओवादीसहित ५ दलीय गठबन्धन कायमै रहेको भए संघमा स्वास्थ्यमन्त्री, १३ दिने गृहमन्त्री भएर प्रदेश झरेका खगराज मुख्यमन्त्री बन्ने सम्भावना न्यून थियो । तर, चुनावमा एक अर्कालाई हराउन लागेका एमाले–माओवादी एकै ठाउँमा उभिँदा स्थायी कमिटी सदस्यसमेत रहेका खगराज मुख्यमन्त्रीका रुपमा सत्तारोहण गर्ने निश्चितजस्तै भइसकेको छ ।

केन्द्रले प्याकेजमा निर्णय गर्न लागेकाले सार्वजनिक हुन ढिला भए पनि गण्डकीमा खगराजकै नेतृत्वमा सरकार बन्ने निश्चित नेताहरुको भनाइ छ । एमालेका संगठन विभागका प्रमुख, स्थायी कमिटी सदस्य र अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको पनि ‘प्रिय पात्र’ खगराजलाई मुख्यमन्त्री बनाउने एक नेताले बताए । पार्टी अध्यक्ष ओली र महासचिव पोखरेल खगराजको ‘दाहिना’ हुँदा पृथ्वीसुब्बाले फेरि प्रदेशमा दोहोरिन चाहे पनि पाएनन् । मुख्यमन्त्रीका दाबेदार खगराजले आफू छलफलकै क्रममा रहेको र छिट्टै सरकार गठनका लागि जाने बताए ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कुनै पनि दलको एकल बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते भोलि सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद भएपछि ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन पुग्छ । राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले एमालेले सरकारमा सहभागी हुनेबारे छलफल गरिरहेको र १र२ दिनभित्रैमा सरकारमा जाने भन्ने ढुंगो लाग्ने बताए ।

नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

प्रकाशित मिति २०७९ पुस २४ गते आइतबार १०:३८
हजुरको प्रतिक्रिया