पोखरा
जीवन तथा वातावरणका लागि कृषि जैविक विविधताको संरक्षण तथा प्रवद्र्धनका लागि नेपाल सरकारले प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवस घोषणा गरेको छ । पोखरा महानगरपालिकाले यसै अवसरमा पोखरा महानगरस्तरीय कृषि जैविक विविधता मेलाको आयोजना गरेको छ । भोली माघे संक्रान्तिका दिन माघ १ गते मेलाको आयोजना गरिएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडोरियाले जानकारी दिए ।
पोखरा १७ ढुङ्गेसाँघुमा वर्षेनी माघे संक्रान्तीका दिन मेला लाग्ने गर्दछ । सोही ठाउँमा रहेको जानकी माध्यमिक विद्यालयको परिसरमा कृषि जैविक विवधता मेला आयोजना गरिने उनले बताए । यसका लागि पोखरा महानगरपालिकामा रहेका लोपोन्मुख बाली, कृषि जैविक विविधता, रैथाने बालीसंगै कन्दमुल प्रदर्शनमा राखिने छ ।
मेलामा भरतपोखरीको तरुल, मालेपाटन ढोडबेसिको खुदो, बेगनासको रातो अनदी, कृस्तिको सुन्तलाको बिक्रि पनि गरिनेछ । यसका साथै स्थानीय उत्पादनको प्रबद्र्धन तथा कृषि जैविक विविधताको महत्वका लागि रैथानी गीत प्रतियोगिता पनि मेलामा आयोजना गरिएको कडोरियाले जानकारी दिए ।
मेलामा कृषि जैविक विविधताका साथै अन्तर्राष्ट्रिय कोदो वर्ष, २०२३ को अवसरमा कोदोजन्य जात तथा परिकारको प्रदर्शनी पनि गरिनेछ । कोदोबाट बनेका विभिन्न १२ थरी परिकारहरुको प्रदर्शनी हुने बताइएको छ । जसमा कोदोका जेरी, कोदोको मोमा, कोदोका पाउरोटी, कोदोका केक, कोदोको कुकजिलगायतका परिकार प्रदर्शनीमा राखिनेछ । यसका लागि पोखरा महानगरपालिकाले लि बर्ड, जैविक स्रो संरक्षण अभियान, खोज पाठशाला, ढुङ्गे सांघु मेला व्यवस्थापन समितिसंग समन्वय पनि गरेको छ ।
प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०३:१०




