पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुँदा देशकै आर्थिक विकासमा कोसेढुंगा हुने विश्वास गरिएको थियो भने पोखरेलीले झण्डै ५० वर्ष पुरानो सपना पूरा भएको भन्दै उत्सव मनाएको थियो ।
विमानस्थलको उद्घाटनमा पोखरेली जनसागर उर्लिएको थियो र त्यसको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले त्यो दिनलाई देशकै गौरवपूर्ण भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देशकै अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने बताएका थिए ।
पोखरेलीको ५ दशक लामो सपना र संघर्ष तथा देशकै राष्ट्रिय गौरवको योजना उद्घाटन भएको १५ दिन पनि नपुग्दै शोकमा बदलिएको छ । जुन जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान परेको थियो, त्यति एयरलायन्सको नाइन एन–एएनसी जहाज आइतबार बिहान दुर्घटनामा परेको छ ।
जुन चालकले परीक्षण उडान भरेर विमानस्थललाई नियमित उडाउन सक्ने सन्देश दिएका थिए, तिनै अनुभव पाइलत कमल केसीको नेतृत्वमा उडान भरेको जहाज दुर्घटना हुँदा पोखरेलीमात्रै होइन, सिंगो देश नै शोकमा डुबेको छ । जुन जहाजले १५ वर्षदेखि नेपाली आकासमा उडान भरिरहेको थियो ।
जहाज दुर्घटनामा ७२ जनामध्ये ६९ को मृत्यु पुष्टी भइसकेकाे छ । ३ अझै वेपत्ता छन्। सनाखत भएका शव आइतबारमात्रै जिम्मा लगाइने छ । सनाखत नभएकाको परीक्षण गर्न काठमाडौं पठाइने प्रशासनले जनाएकाे छ।’ दुर्घटनामा डाक्टर, पाइलट, पत्रकार, संगीतकर्मी, विदेशी पाहुनादेखि यो देशका सामान्य नागरिकसम्मले ज्यान गुमाएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा उत्सव मनाएको केही दिनमै कालो दिन देख्नुपरेको स्थानीय सञ्जय कार्कीले बताए । उनले भने, ‘पोखरामात्र होइन, देश नै शोकमा डुबेको छ । आज देश-विदेशका धेरै आफन्तहरुको जीवनलिला सेतीमा डुबेको छ र सेतीमा पानी होइन, आँसु बगेको छ ।’
नेपाली आकासमा आन्तरिक उडान हुँदा भएको यो सबैभन्दा ठूलो दुर्घटना हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन नै ७२ सिटे जहाजबाट भएको थियो । त्यही विमानस्थलमा अवतरण हुनै लाग्दा त्यत्रै जहाज दुर्घटना हुँदा पोखरेलीलाई चिन्ता छ, ‘यो घटनाले कतै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नै संकट निम्तिने त होइन ?’
सेती खोंचमा दुर्घटनाग्रस्त भएर ठूलो संख्यामा माननीय क्षति भएको कम्पनिकै जहाज गत वर्ष जेठ १५ गते पोखराबाट सोमसोम जाँदै गर्दा दुर्घटनामा परेर २२ जनाले ज्यान गुमाएका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुँदै गर्दा यति छिट्टै अर्को त्योभन्दा भयानक दुर्घटनाको आशंका पनि गरेका थिएनन् ।
यो दुर्घटनाले नेपाली आकास अझै सुरक्षित छैन भन्ने अन्तर्राष्ट्रिय स्तरमै फेरि सन्देश दिएको र खुसी साट्न नपाउँदै शोक डुब्न अभिसप्त हुनुपरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी बताउँछन् ।
अहिलेसम्म दुर्घटना हुनुको कारण खुलिसकेको छैन । त्यसका लागि सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगले दुर्घटनाको कारण सार्वजनिक गर्दा तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्न गम्भीर प्रश्न खडा गरेको मुल्मीको भनाइ छ ।
‘नेपालको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा हवाइ सेवा सञ्चालन गर्नुपर्ने चुनौतिपूर्ण रहेकै बेला यो दुर्घटना हुनु हाम्रा लागि अत्यन्त दुखद् अवस्था हो,’ मुल्मीले भने, ‘यो मानवीय त्रुटी हो वा हाम्रा जहाजहरु पुराना भएका हुन् ? त्यो गम्भीर अध्ययन होला । पूर्वबाट ल्याण्ड गर्नुपर्ने जहाज पश्चिमबाट ल्याण्ड गर्नुपर्ने परिस्थिति किन र कसरी सिर्जना भयो भन्ने बुझ्न गाह्रो परिरहेको छ ।’
नागरिक उड्डयन प्राधिकरणले सुरुदेखि नै पूर्वमात्रै उडान र अवतरण गर्ने बताउँदै आएको थियो । तर, आइतबार टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३० मा (पूर्व विजयपुरतिरबाट) ल्याण्ड गर्न आग्रह गर्दा क्याप्टेनले १२ (पुरानो विमानस्थल क्षेत्रतिरबाट) बाट आउँछु भनेका थिए ।
नेपाल सरकारले आन्तरिक उडान भर्ने सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिइसकेको छ । ग्राउण्ड क्लियरेन्स लिइसकेको जहाज दुर्घटना हुनुले थुप्रै प्रश्नहरु उब्जाएको छ ।

नागरिक उड्डयन प्राधिकरणको आफ्नो क्षमतामाथि पनि यसले प्रश्न उठाएको मुल्मीको भनाइ छ । ‘नेपालजस्तो देशले नयाँ जहाज किन्न सक्दैन, पुरानै जहाज किनेर ल्याउने हो तर त्यसको नियमित मर्मत सम्भार, अनुगमन गर्नुपर्छ, नागरिक उड्डयन प्राधिकरणले ध्यान दिनुपर्छ भनेर आवाज उठाइरहेका पनि थियौं,’ विमानस्थल बनाउन दबाब दिने नेतृत्व गर्नेमध्येका एक मुल्मीले भने, ‘पटक पटक उड्न लागेका जहाज पनि फर्किने, उड्दा उड्दै आकस्मिक अवतरण गर्नुपर्ने अवस्था पनि थिए । आफ्नो सिस्टमलाई बलियो बनाउनेदेखि अनुगमनसम्म प्राधिकरण त्यति संवेदनशील अझै पनि नभएको हो कि भन्ने लागिरहेको छ ।’
भर्खरैमात्र उडान सुरु भएको विमानस्थलमै अवतरणका क्रममा भएको दुर्घटनाले अन्तर्राष्ट्रियस्तरमै जाने सन्देश चिन्ताजनक हुन सक्ने पोखरेलीहरुले बताइरहेका छन् । आइतबार पोखरामा भएको दुर्घटनाले उड्डयन क्षेत्रलाई चिन्तित बनाएको पर्यटन व्यवसायी वासु त्रिपाठीको बताए ।
‘अहिलेको घटनाले धेरै नै गम्भीर प्रश्न निम्त्याएको छ । न मौसम खराबी छ, नत्र टावरसँग कनेक्सन टुटेको छ । यस्तोमा कतै जहाजमै समस्या थियो भनेर अनुमान गर्न सकिन्छ,’ त्रिपाठीले भने, ‘यसले उड्डयन क्षेत्रलाई प्रभावित पार्ने छ । त्योभन्दा ठूलो चुकाउन परेको मानवीय मूल्यको हिसाब छैन । यो कारुणीक शिक्षा हो ।’ सरकार वा अधिकार प्राप्त निकायले १३ दिनपछि यी सबै घटना बिर्सने र फेरि अर्को घटना घटेपछि बिदा दिने हुने हो कि भन्ने चिन्ता जनमानसमा रहेको उनले बताए ।
सन् २०१२ मे मा पनि गण्डकी क्षेत्रमै जहाज दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो ।
२००२ अगस्ट मा पोखरामै सांग्रिला एयरको डिएचसी ट्विनअटर जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । एकातिर अहिले भएको दुर्घटनाले पोखरा स्तब्ध छ भने अर्को नेपालको आकास सुरक्षित छैन भन्ने सन्देश रहँदै आएकोमा अहिलेसम्मकै आन्तरिक उडानको ठूलो दुर्घटना पोखरामै हुँदा यसले अन्तर्राष्ट्रिय उडान पनि ठप्प पार्ने हो कि भन्ने चिन्ता पनि छ ।
प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०१:५०




