पोखरा
इस्लाम धर्मको तीर्थयात्रा उमराका सदाकत अलिमियाकी सानीआमा साउदी जाने तयारी भयो । याेजनाकाे टुंगाे त लाग्याे । तर, काठमाडाैंसम्म छाेड्न जान काेही भएनन् ।
सानीआमालाई काठमाडौं छाड्ने कोही नभएपछि सदाकत आफैं अघि सरे ।
२७ वर्षका सदाकत पोखरादेखि सानीआमालाई काठमाडौं छाड्न अघिल्लो दिन गए । पाेखरा फर्किन उनले यती एअरलाइन्सकाे टिकट लिए । सानीआमालाई छाेडेर भाेलिपल्ट उनी पाेखराका लागि उडे ।
जहाज चढ्नुअघि स्याङ्जा माइतमा रहेकी श्रीमती सवनमलाई सदाकतले फोन गरेर भने, ‘माया घर आउ, म जहाज चढें ।’ यति भनेपछि सदाकतले फोन राखे ।
त्यसपछि सवनमले पोखरा आउने तर्खर गरिरहेकी थिइन् ।
आइतबार पोखराका लागि उडान त भरे । तर, सुखद अवतरण गर्न पाएनन् । आइतबार बिहान पाेखरामा भएकाे विमान दुर्घटनामा उनले ज्यान गुमाए । अब सवनमले फेरि सदाकतकाे आवाज सुन्न पाउने छैनन् ।
घटनाबारे थाहा पाएपछि उनी बेहोसी अवस्थामा छिन् । अस्पताल परिसरमा शव बुझ्न आएका आफन्तले भने, ‘सवनमको आँसु रोकिएको छैन ।’
घर को एक्लो सन्तान सदाकत व्यापारी थिए । ‘उनको २ वर्षको छोरी नुर अहिले बाबा खोइ भन्दैछिन्,’ एक आफन्तले भने ।
७२ जना सवार विमान दुर्घटनामा हालसम्म सदाकतसहित ६९ जनाकाे शव भेटिएकाे छ । बाँकी ३ जनाकाे अवस्था अज्ञात छ । विमानमा ४ चालकदल र ६८ जना यात्रु सवार थिए ।
प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०६:५४




