पोखरा
३२ वर्षीय सञ्जय जैसवाल शनिबारमात्र मामा बने । सञ्जयकी दिदीले पोखराको गण्डकी अस्पतालमा छोरीलाई जन्म दिइन् ।
भान्जी भेट्न आइतबार नै सञ्जय काठमान्डौबाट पोखरा जान प्लेनको टिकट काटे । भान्जीको अनुहार हेरेर काखमा लिने उनको सपना अधुरो रह्यो । उनी चढेको यती एयरको विमानसंगै उनि पनि दुर्घटनामा परे ।
जैसवाल भारतीय नागरिक हुन् । तर उनी धेरै वर्षदेखि नेपालमा बसेका थिए । उनका आफन्त नेपालमै छन् ।भारतको बिहारमा उनको आमा र बिरामी बाबा छन् । परिवारको सहारा उनी एक्लो थिए ।
उनका एकमात्र दिदिभिनाजु भने पोखरामा बस्दै आएका थिए । दिदीलाई भेट्न र कामको सिलसिलामा उनी पोखरा आइरहन्थे । तर, यसपालि उनी कहिल्यै नफर्कने गरी पोखरामा अस्ताए ।
मामा बनेका सञ्जयको खुसी २४ घण्टा पनि रहेन सकेन। भर्खरै संसार टेकेका भाञ्जालाई सप्रेम सुम्सुम्याउन पाएनन् एक झलक देख्न पाएनन् ।
शनिबारमात्र अपरेशन गरेकी दिदीलाई थाहा नदिएको भिनाजु विकास जैसवालले जानकारी दिए । उनले भने, ‘कसरी भन्नू , उसलाई थाहा दिनु हुँदैन’
एकै अस्पतालमा दिदी छोरी जन्मिएको खुसी छिन् । तर बाहिर पोस्टमार्टम भवनमा भाइको शव राखिएको थाहा छैन ।
विदेशी नागरिकको शव तथा सनाखत नभएकाको शव काठमाडौं लैजाने निर्णय भइसकेको छ । तर, विकास भने आफ्ना साला सञ्जयको शव पोखरामै बुझ्न चाहन्छन् । उनले भने, ‘आफन्त नै पोखरा भएकाले शव यही बुझेर विहार लग्न खोजेको छौ ।’
प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०७:२७




