पाेखरा
श्रीमान अमेरिका र श्रीमती अस्ट्रेलियामा थिए । उनीहरूले याेजना बनाएँ, पुस अन्तिम साता काठमाडौंबाट पाेखरा जाने ।
घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुइतिर भएर नबस्ने । यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने ।
यही याेजनाअनुसार पाेखराका शिवकुमा गुरूङ अमेरिकाबाट पुस २७ मा काठमाडौं ओर्लिए । अस्ट्रेलियादेखि अनुस्का गुरूङ पनि काठमाडौं ओर्लिइन् । २ वर्षअधिमात्र उनीहरूले विवाह गरेका थिए ।
विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुस्का अस्ट्रेलियामा पढ्दै थिइन् भने शिवुले अमेरिकामा व्यापार । छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पाेखरा जाने याेजनामा थिए ।
‘पुस महिनामा जानू त्यति राम्राे नहुने मान्यता पनि थियाे । त्यसैले पनि सक्रान्ति मान्ने गरि पाेखरा जाने, बाआमा भेट्ने । विवाह दर्ता गर्ने सँगै बस्ने प्रक्रिया अगाडि बढाउने याेजना उनीहरूकाे थियाे,’ शिवका दाइ (काकाकाे छाेरा) ज्याेति गुरूङले भने, ‘त्यसैअनुरूप १ गते बिहानै जहाजमा पाेखरा ओर्लिँदै थिए ।’
काठमाडौंबाट जुन जहाजमा उनीहरू पाेखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खाेंचमा दुर्घटनामा पर्याे । सँगै बाँच्ने कसम खाएका उनीहरूले एकै ठाउँमा ज्यान गुमाए ।
७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धिसुब्बा गुरूङ छाेराकाे बाटाे हेरेर बसिरहेका थिए । तर, उनीहरूका नजरमा छाेरा बुहारी परेनन् । बाआमाले सडकमा नजर बिछ्याइरहे तर त्यही बाटाे भएर छाेराबुहारीकाे मृत्युकाे खबर आउँदा उनीहरू विक्षिप्त छन् ।
आफैं डाँडामाथिका घाम बनेका उनीहरूले एकमाात्र छाेरा-बुहारीकाे मृत्युकाे खबर सुन्दा विलापमा छन् ।
शिवले पहिलाे घरबार बिग्रिएपछि अनुस्कासँग दाेस्राे विवाह गरेका थिए । बाआमा धम्पुसबाट आएर बगालेटाेलमा घर रूघिँरहेका थिए ।
अहिले उनीहरूकाे शव पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।
‘हामी आफन्त भाइबुहारी शव बुझ्न अस्पतालमा पर्खिरहेका छाैं,’ ज्याेतिले भने, ‘उता बाआमा छाेराकाे मृत अनुहार एकचाेटी भए पनि हेर्न तड्पिरहेका छन् ।’
प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०७:४५




