२०८३ साउन २१ गते बिहीबार

‘मान्छे गुमाइसक्यौं, शव पाउनलाई यत्रो सास्ती ?’

‘मान्छे गुमाइसक्यौं, शव पाउनलाई यत्रो सास्ती ?’

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ माघ २ गते सोमबार ०८:०९

‘छिटो गरेर दिएपनि त हुन्थ्यो नि । आफन्तको विचल्ली त हुने थिएन । अझै कति समय तड्पनुपर्ने रहेछ !’

पोखरा

आइतबार उज्यालो रहेको पोखराको आकाश सोमबार एकाएक अध्याँरो बन्यो । दिन ढल्नै लाग्दासमेत मौसम खुल्न सकेन । आकासजस्तै मधुर मलिन थियो, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा भेटिने हरकोहीको मुहार ।

रोग बोकेर अस्पातलमा आउने धेरै शोकले गलेर आएका छन् । पोखरा महानगर–७ र १५ वडा जोड्ने मितेरीपुल नजिकै सेती खोंचमा आइतबार बिहान यति एयरलाइन्सको विमान दुर्घटनामा परेर आफन्त गुमाएकाहरुको ठेलमठेल भिड थियो, अस्पताल परिसरमा ।

पोष्टमार्टम भवनको बाहिर दिवंगत भएकाहरुको अन्तिम प्रतीक्षामा रहेका आफन्तहरु भावविह्ल थिए । भवनको गेटबाट कोही निस्कँदा सोधिहाल्थे, ‘अझै कति समय लाग्ला ?’

जवाफमा केवल पाउँथे, ‘खोइ ?’

जवाफ सुनेपछि एक महिलाले गुनासो गरिन्, ‘छिटो गरेर दिएपनि त हुन्थ्यो नि । आफन्तको विचल्ली त हुने थिएन । अझै कति समय तड्पनुपर्ने रहेछ !’

०००

काठमाडौंबाट आइतबार बिहान १०ः३३ मिनेटमा उडान भरेको यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमानका ६८ यात्रुमध्ये एक थिए पोखरा–१३ मियाँपाटनका सदाकत अलिमियाँ ।

हजयात्रा हिँडेकी आफ्नी सानिआमालाई काठमाडौं पु¥याएर पोखरा फर्कंदै गरेका अलिमियाँ चढेको विमान उडेको २२ मिनेटमा भुइँ टेक्दै आगोको मुस्लोमा परिणत भयो । चिप्लेढुंगामा फेन्सी पसल चलाउने उनी सेती खोंचको दुर्घटनाबाट विलिन भए ।

अस्ट्रेलिया जाने सपना अधुरै छाडेर अस्ताएको अलिमियाँको घाँटीमा मात्रै चोट लागेका अवस्थामा परिवारले सनाखत गरेको २४ घण्टाभन्दा बढी भइसकेपछि बल्ल शव पाए । उनको विमान दुर्घटनाबाट मृत्यु हुनेहरुमध्ये परिवारले बुझ्नेमा बल्ल पाए ।

पोस्टमार्टम भवन छिर्ने गेटैमा बसेका एक युवा आक्रोशित हुँदै भने, ‘मान्छे गुमाइसक्यौं, शव पाउनलाई यत्रो सास्ती !’

प्रवेशद्धारामा बसेका सुरक्षाकर्मीसँग भित्र के भएको छ यथार्थ जानकारी माग्दा नपाएपछि चर्को उनले स्वर निकाल्थ्ये, ‘कि लास दे । नभए श्वास हालेर दे हाम्रा मान्छेलाई ।’

विमान दुर्घटनामा परेर मृत्यु भएकी लक्ष्मी पौडेलको शव लिन कास्कीको पुरनचौरदेखि आएको उनले बताए । शव बुझ्न नपाएपछि उनी भिडमा आफुलाई सम्हाल्न नसकेर यताउती गरिरहन्थे । चिनेको कोही भेटे दुख पोख्थे, ‘आज पनि नदिने भए ।’

काठमाडौंबाट आएका २ फरेन्सिक विज्ञसहित डाक्टरको टोलीले अहिले मृतकहरुको पोस्टमार्टम गरिरहेको छ । सोमबार बिहानै उनीहरु आउने भनेपनि ढिला आइपुगेपछि पोस्टमार्टमा पनि ढिलाइ भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार ७० जनाको शव दुर्घटनास्थलबाट फेला परेको छ । विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । हराइरहेका २ जनाको खोजी जारी रहेको उनले बताए । ‘बाँकी २ जनाको भोलिमात्रै खोजी गरिने भयो,’ उनले भने ।

सनाखत भएका शव पोष्टमार्टमपछि प्रक्रिया पु¥याएर आफन्त जिम्मा लगाउने उनले बताए ।

‘विदेशी नागरिक, क्रु मेम्बर, पहिचान नखुलेको र काठमाडौँनै लगेर पोष्टमार्ट गर्छौं भन्नेको हकमा काठमाडौं लग्ने व्यवस्था हुँदैछ’, उनले भने ।

प्रकाशित मिति २०७९ माघ २ गते सोमबार ०८:०९
हजुरको प्रतिक्रिया