पोखरा
पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले सोही अरु ३ जना बिना विभागी मन्त्री नियुक्त गरे । एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमुलाई बिना विभागीय मन्त्री बनाएका खगराजले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद बिस्तार गर्ने बताए ।
२९ गते विश्वासको मत लिएर मुख्यमन्त्री खगराज ढुक्क भएर बसेका छन् तर भएका मन्त्रीलाई नै विभाग मिलेको न आवास नै छ । भएका मन्त्री काम नहुँदा फुक्काफाल छन् भने नयाँ मन्त्रीपरिषद गठनको पनि छाँटै छैन ।
मन्त्रीपरिषद बिस्तारमा किन विलम्ब त ? मुख्यमन्त्री अधिकारी भन्छन्, ‘केही दिनभित्रै हुन्छ, हतार के छ र ? सबैले थाहा पाइहाल्छन् नि !’ मुख्यमन्त्री अधिकारीले मन्त्रालयको संख्या १२ बाट ९ मा झार्ने तयारी त गरेका छन् न भागबण्डा टुंगिएको छ न मन्त्रालयको संख्या नै ।
जनताको चहाना अनुसार नै अहिले भइरहेको मन्त्रालयको संख्या घट्छ । एक अंककै मन्त्रालय रहन्छ,’ खगराजले भने, ‘कति मन्त्रालय बनाउने भनेर अध्ययन भइरहेको छ ।’
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले सुरुमा ७ मन्त्रालय बनाएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि मन्त्रालयको संख्या ८ पु¥याए भने ११ मन्त्रालयसम्म बनाउन उनले नै बाँडफाँड गरेका थिए ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले त मन्त्रालयको संख्या १२ नै पु¥याए । ६० सदस्य सांसद रहेको गण्डकीमा १२ मन्त्रालयभन्दा बढी बनाउन पाइने कानुनी व्यवस्था छैन । एमालेका एक सांसदका अनुसार १० गतेभित्रै मन्त्रिपरिषद बिस्तार हुने छ ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि मन्त्रालयको संख्या ९ नै हुन सक्ने बताउँछन् । ९ मन्त्रालय भयो भने माओवादीलाई ३, राप्रपालाई १ र एमाले आफूले ५ मन्त्रालय राख्न सक्ने सांसद गोविन्द नेपालीले बताए । तर, माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका गोरखाका फणिन्द्र देवकोटा नेपाल समाजवादी पार्टीको कोटाबाट मन्त्री हुन खोजिरहेका छन् ।
माओवादीबाट शुसीला सिम्खडा र कुशुम बुढामगरमध्ये एक जना र म्याग्दीका सांसद रेशमबहादुर जुग्जाली मन्त्री हुने पक्काजस्तै छ । मुख्यमन्त्री खगराजलाई एमालेबाटै मन्त्रीको टुंगो लगाउनसमेत सकस परिरहेको छ । एमालेबाट दोस्रो पटक प्रदेश सभामा चुनाव जित्ने एकमात्र सांसद रोशन गाहामगरले अर्थमन्त्रालयको दाबी गरिरहेका छन् । तर, उनलाई खगराजले विश्वासको मत लिनुअघि एमाले प्रमुख समेतक बनाएका छन् ।
गाहामगरले भने विश्वासको मत लिने प्रयोजनका लागिमात्र प्रमुख सचेतक भएको र आफू मन्त्री नै हुने दाबी गर्दै आइरहेका छन् । एमालेबाट बागलुङका सांसद लिलबहादुर थापाले पनि मन्त्री दाबी गरिरहेका छन् ।
नेकपा विभाजनमा माओवादीबाट एमालेमै बसेका थापा पोलिटब्युरो सदस्य हुन् । पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदाका राजनीतिक सल्लाहकार र एमाले केन्द्रीय सदस्यसमेत रहेका गोविन्द नेपालीले पनि मन्त्रीको दाबी गरिरहेका छन् । तर, उनलाई प्रमुख सचेतक बनाएर रोशनलाई मन्त्री बनाउनेबारे छलफल भइरहेको एक एमाले नेताले बताए ।
एमाले केन्द्रीय लेखा समिति सदस्य तथा नवलपुरबाट प्रत्यक्ष चुनाव जितेकी पद्मा जिसीलाई मन्त्री बनाउन मुख्यमन्त्री खगराजलाई दबाब नै आइरहेको एक नेताले बताए । कास्कीबाट मुख्यमन्त्री नै भए पनि एक जना मन्त्री बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।
कास्कीका गणेशमान गुरुङ पनि मन्त्रीका लागि कसरत गरिरहेका छन् । कास्की–१ (२) का सांसद वेदबहादुर गुरुङ पनि मन्त्री हुन सक्ने चर्चा कास्कीमा छ । तर, मुख्यमन्त्री नै त्यही क्षेत्रको भएकाले उनी नहुने एमालेकै नेताहरु बताउँछन् ।
प्रकाशित मिति २०७९ माघ ५ गते बिहीबार ०५:२१




