काठमाडौं
प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन्।
प्रतिनिधि सभामा शनिबार भएको निर्वाचनमा मगर बहुमतले उपसभामुख निर्वाचित भएकी हुन्। उनको पक्षमा १६६ मत परे भने विपक्षमा ९७ मत परेका छन्। एक जना सांसद तटस्थ बसे। मतदानमा २६४ सांसद सहभागी थिए।
उनलाई स्वतन्त्र पार्टीसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र जनतम पार्टीका सांसदले मत दिएका छन्।
उनलाई उपसभामुख चयन गर्न स्वतन्त्र पार्टीकी सांसद शोविता गौतमले प्रस्ताव गरेकी थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका थिए।
समाजसेवाबाट राजनीतिमा प्रवेश गरेकी राना मगर समानुपातिकबाट सांसद निर्वाचित भएकी हुन्। झापाकी ५२ वर्षीया राना मगर आमाबुवासँग कारागार पुगेका बालबालिकालाई आश्रय र शिक्षा दिँदै आएकी छन्। उनी संस्थापक रहेको बन्दी सहायता नेपालले काठमाडौं, भक्तपुर र झापा लगायतका जिल्लामा १२ बालगृह र दुई विद्यालय सञ्चालन गरिरहेको छ।
प्रकाशित मिति २०७९ माघ ७ गते शनिबार ०५:४१




