तनहुँ
तनहुँका दुई चेपाङबस्तीका बालबालिकालाई रोटरी क्लब अफ दमौलीले सोमबार सहयोग गरेको छ । चरम आर्थिक अभावबाट गुज्रिएका व्यास नगरपालिका वडा नं ११ स्थित राम्चे र भानु नगरपालिका वडा नं ६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक विपन्नता भएका बालबालिकालाई क्लबले सहयोग गरेको हो ।
राम्चे स्थित सुर्योदय प्रावि र मान्द्रे स्थित कालिका प्राविमा पढने आर्थिक विपन्नता भएका बालबालिकालाई विद्यालय पोशाक, शैक्षिक सामग्री र व्यक्तिगत सरसफाइ सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए ।
बालबालिकाहरु आधारभूत आवश्यकताबाटै बञ्चित भएको खबर पत्रिकामा पढेपछी त्यस बारे क्लबमा छलफल भएको र सबै सदस्यहरुबाट सहयोग जुटाएर ६९ जना बालबालिकालाई सहयोग गरिएको कार्यक्रमका संयोजक क्लबका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले जानकारी दिए ।
सुर्दोदयका ३२ जना बालबालिका सबैलाई र कालिकाका ६१ जना मध्ये आर्थिक अवस्था कमजोर भएका ३९ जना बालबालिकालाई ट्रयाक सुट,कापी, कलम, ब्रश, मन्जन, साबुन लगायतका सामग्री सहयोग गरिएको उनले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भएर बालबालिकाहरु शिक्षाको अवसरबाट बञ्चित हुने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले विशेष गरी चेपाङवस्तीका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेलले जानकारी दिए ।
प्रकाशित मिति २०७९ माघ ९ गते सोमबार ०८:०६




