२०८३ साउन २१ गते बिहीबार

सवारी चालक अनुमतिपत्रको लागि ट्रायल कहिले खुल्छ ?

सवारी चालक अनुमतिपत्रको लागि ट्रायल कहिले खुल्छ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २ गते आइतबार ०५:४४

पाेखरा । मुलुकमा जारी कोरोना कहरका कारण सवारी चालक अनुमति पत्रको सवै प्रकृया रोकिएको करिब ७ महिना पुग्न लागेको छ । सरकारले गत चैत्र १० गतेदेखि लागू गरेको लकडाउनका कारण रोकिएको प्रकृया लकडाउन हटेपछि पनि शुरु हुन सकेन । लामो समयदेखि...

पाेखरा । मुलुकमा जारी कोरोना कहरका कारण सवारी चालक अनुमति पत्रको सवै प्रकृया रोकिएको करिब ७ महिना पुग्न लागेको छ । सरकारले गत चैत्र १० गतेदेखि लागू गरेको लकडाउनका कारण रोकिएको प्रकृया लकडाउन हटेपछि पनि शुरु हुन सकेन । लामो समयदेखि प्रकृया रोकिँदा लाखौ सेवाग्राहीहरु त्यसको प्रत्यक्ष मर्कामा परेका छन् ।  देश तथा बैदेशिक रोजगारका लागि सवारी चालक अनुमति अनिवार्यजस्तै बनेको छ । लामो समयदेखि अनुमतिपत्र वितरणको सवै प्रकृया रोकिँदा त्यसको प्रभाव पछिसम्म पर्नेछ । कोरोना महामारीको कहर एकातिर हुँदा हुँदै गरि खाने आम मानिसहरुको चासो सवारी चालक अनुमतिपत्र कहिले खुल्छ भन्नेमा छ । यसै सन्दर्भमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र गण्डकीका निमित्त कार्यालय प्रमुख भरतराज काफ्लेसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. ट्रायल कहिले खुल्छ ?

– कोरोना कहरका कारण ठ्याक्कै यसै भन्न सकिने अवस्था त छैन तर अब छिट्टै खोल्नुपर्छ भन्नेमा हामी छौ । अहिले तत्काल खोलिहाल्न मिल्ने अवस्था पनि छैन र खोल्ने विषयका केहि जटिलताहरु पनि छन । खोल्नका लागि हामीले हाम्रो सिस्टमलाई चैत्र १० गते भन्दा अघिको सिस्टममा फर्काउनुपर्छ । त्यसका प्राविधिक जटिलताहरु आफ्नै ठाउँमा होलान तर सिस्टमलाई चैत्र १० मा नर्फकाउँदा सेवाग्राहीहरुलाई नै मर्का पर्छ । ९० दिनभित्र ३ पटकसम्म ट्रायल दिन पाउनेहरुको समयसिमा सिस्टममा कटिसकेको छ । लिखित पास गरेर ट्रायल दिन नपाउनेहरु हुनुहुन्छ । एकपटक ट्रायल दिएर रिट्रायलको फर्म भरेर बस्नेहरु हुनुहुन्छ । फर्म भरेर फोटो खिचाउन तथा बायोमेट्रिक गर्न बाँकीहरु हुनुहुन्छ यो सवै मिलाएर छिट्टै खोल्नुपर्छ भन्नेमा हामी छौ ।

 

२. सिस्टम कहिले मिलाउनु हुन्छ ?

– परिस्थिती सहज बन्यो र कोरोनाको यो महामारी आंशिक भनेपनि नियन्त्रणमा आयो भने कार्यालयले सम्वन्धित विभागसंग समन्वय गरेर तिहार लगत्तै सवारी चालक अनुमति पत्रको प्रकृया शुरु गर्ने गरि तयारी थालेको छ । तर हामी मात्र तयार भएर पनि भएन । यसअघि प्रकृयामा आईसकेकाहरुलाई सवारी चालक अनुमतिपत्र वितरण गर्न वा ट्रायल लिन समस्या होइन तर सिस्टम व्यवस्थापन गरिसकेपछि नयाँ फर्म पनि दर्ता गर्ने गरि गर्नुपर्ने हुन्छ । यसर्थ, सुरक्षा सर्तकताका मापदण्डहरु अपनाएर नयाँ फर्म समेत दर्ता गर्न सक्ने अवस्था बन्दा मात्र खोल्नुपर्छ भन्ने हो ।

३. तपाईले भनेजस्तै पहिल्यै प्रकृयामा रहेका सेवाग्राहीहरु कति छन ?

हामीकहाँ पहिल्यै प्रकृयामा आईसक्नुभएकाहरु मध्ये लिखित दिएर रिजल्ट नै नभएकाहरु करिब सात आठ सय जति हुनुहुन्छ भने नयाँ फर्म भरेर लिखित नै दिन नपाएकाहरु करिब त्यस्तै तीनचार सय जति हुनुहुन्छ । फर्म भरेर बायोमेट्रीक गर्न र फोटो खिच्नै बाँकी पनि त्यस्तै तीन सयकै हाराहारीमा हुनुहुन्छ ।

सवारीचालक अनुमतिपत्र नविकरणकाे लागि उपस्थित सेवाग्राहीहरू

 

४. लकडाउनपछि कार्यालय त खुलेको छ, यतिबेला कार्यालयले दिने सेवा के हो ? के गर्दै हुनुहुन्छ ? 

– लकडाउनपछिको अवस्थामा हामीले यसअघि वितरण गर्न बाँकी रहेका केहि स्मार्ट लाइसेन्सहरु वितरण ग¥यौ । लकडाउनकै क्रममा हामीले काठमाडौ नै गएर थप ४८ हजार स्मार्ट लाइसेन्स ल्याएर सेवाग्राहीको सुविधा र भिडभाडपनि कम गर्ने उद्देश्यले सार्वजनिक विदाका दिनहरुमा समेत त्यसलाई वितरण गरेका छौ । नविकरणको काम पनि भइरहेको छ । यसरी हेर्दा हामीले काम त गरिरहेका छौ । तर, हाल भइरहेको काम हामीले विगतमा गर्ने कामको तुलनामा एकतिहाइ जति मात्र हो ।
५. कहिले खुल्छ भनेर कुरेर बस्नेहरुलाई के भन्नुहुन्छ ?
– हाम्रो आफ्नो समस्याले भन्दापनि संसारभर फैलिएको महामारी र विपत्तीका कारण यो असहज परिस्थिती सिर्जना भएको हो । धैर्य गरौ, यसको छिट्टै कुनै समाधान होला ! हामी पुरानै अवस्थामा फर्केर सेवा दिन शुरु गरेपछि सार्वजनिक सञ्चारमाध्यम, हाम्रो वेवसाइट र सामाजिक सञ्जालहरुमार्फत हामी सवैलाई सूचित गर्ने प्रयास गर्छौ । अहिले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति हामी क्षमायाचना गर्दछौ र हाम्रो कार्यालयको महत्वपूर्ण कुराहरु व्यक्त गर्ने अवसरका लागि यहाँको सञ्चारमाध्यमलाई पनि धेरे धन्यवाद भन्न चाहान्छु ।

प्रकाशित मिति २०७७ कात्तिक २ गते आइतबार ०५:४४
हजुरको प्रतिक्रिया