२०८३ साउन २१ गते बिहीबार

लखेटिएका लोपोन्मुख गिद्ध अब कहाँ जालान् ?

लखेटिएका लोपोन्मुख गिद्ध अब कहाँ जालान् ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १२ गते बिहीबार १०:३९

पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे भन्छन्, ‘गिद्धका आयु प्रजाति हेरिकन ३५ वर्षसम्म हुन्छ । गिद्धलगायतका चराहरु यही ठाउँमा जन्मिएर हुर्किएर, बुढो पनि भएका छन्, मान्छेलाई त आफू जन्मेका हुर्केका ठाउँ छाड्न गाह्रो हुन्छ, चरालाई पनि त्यहि हो । आफू वर्षोदेखि बसिरहेको ठाउँ हत्तपत्त छाड्न गाह्रो पर्छ ।’ 

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्धघाटनको भोलिपल्ट नै पोखराका लेखक गनेस पौडेलले सामाजिक सञ्जालमा लेखेः ‘विमानस्थल संचालन पछि बितरा परेका गिद्धहरु बास खोज्दै हिजोबाट मेरो फार्म हाउसमा बसिरहेका छन् । संभवत अन्तिम प्रहरको रात्री विश्राम हो उपत्यकामा यिनको । मजस्तै यिनीहरु पनि अब यहाँबाट विस्थापित हुनेछन् ।’

तस्बिर गनेश पौडेलको ट्वीटरबाट

कुनै समय लेखक पौडेलको पुरानो घर त्यहि ठाउँमा थियो जुन ठाउँमा अहिले बनेको छ विमानस्थल । विमानस्थलको उद्धघाटनका दिनसम्म पनि पौडेलले सो ठाउँलाई विमानघाट शब्दको प्रयोग गरिरहे । उनी भन्छन, ‘आजको विमानस्थल बन्नका लागि त्यहाँका हजारौं बासिन्दा जर्बजस्ती विस्थापित हुनुप¥यो, सामाजिक, सांस्कृतिक सम्बन्धहरु सो ठाउँमा नष्ट भयो । चराचरुङगी, समग्र सो क्षेत्रको पर्यायवरण हामीले त्यहाँ बिसर्जन गर्यौ, त्यहि भएर यो एक विमानघाट हो ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनमा आउनका लागि सरकारले मुआब्जा दिएर त्यस ठाउँका बासिन्दा विस्थापित भइसकेका छन् तर आफ्नो गुँड बनाएर वर्षो देखि बसिरहेका गिद्ध तथा अन्य चराले भने आफ्नो घर अझै छोड्न सकेका छैनन् ।

पोखरामा रहेको तालतलैया, सिमसार क्षेत्र, हरियाली, खुला चौरले विदेशी चरा जाडो छल्न पोखरा आउँछन् भने रैथाने चरा बाहिर जादैनन् । आज विमानस्थल रहेको ठाउँ त्यतिबेलाको ठूलो चरण क्षेत्र थियो । खुला चौर र गाइवस्तुको चरण क्षेत्र रहेकाले आहाराको खोजीमा गिद्धले सोही ठाउँलाई आफ्नो घर बनाए । वर्षोदेखि आफ्नो घर बनाएको गिद्धको बस्तीमा भने अहिले विमानस्थल बनेको छ । यतिबेला जाडो छल्न विदेशबाट गिद्ध, महाचिल, चिललगायतका चरा पोखरा आइपुगेका छन् । उनीहरु वर्षोदेखि उड्ने र खाना खोज्ने, बस्ने ठाउँमा अहिले विमानस्थल बनेको छ ।

पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे भन्छन्, ‘गिद्धका आयु प्रजाति हेरिकन ३५ वर्षसम्म हुन्छ । गिद्धलगायतका चराहरु यही ठाउँमा जन्मिएर हुर्किएर, बुढो पनि भएका छन्, मान्छेलाई त आफू जन्मेका हुर्केका ठाउँ छाड्न गाह्रो हुन्छ, चरालाई पनि त्यहि हो । आफू वर्षोदेखि बसिरहेको ठाउँ हत्तपत्त छाड्न गाह्रो पर्छ ।’

चराविद्हरुले यसबारे पाँच वर्षअघि देखि नै पोखरा महानगर, विमास्थल परियोजनालाई जानकारी दिदैँ आएका थिए । पटक पटक पोखरा महानगरपालिका, विमानस्थलका परियोजनासंग छलफल पनि गरेका छन् । विमानस्थलको नजिकै रहेको पोखराको ल्यान्डफिल साइटमा फोहोरसंगै आउने मासु, सिनो गिद्धका खान्की हुन् । गिद्ध सिकारी चरा भएपनि आफूले नमार्ने मरेका सिनो भने खाने गर्छन् । ल्यान्डफिल साइटमा उनीहरुका लागि खाना भेटिने भएकाले गिद्धलगायतका चराले छेउछाउमा नै गुँड बनाएर बसेको वर्षो भइसक्यो । अतिसंकटापन्न चरा गिद्ध सो ठाउँमा रहेकाले उसको सुरक्षा र विमानस्थलको सुरक्षाका लागि ल्यान्डफिल साइटलाई बेलैमा सार्न दबाब पनि दिइयो । तर यसबारेमा सरकारी निकाय संवेदनशील र गम्भीर नभएको चराविद्हरु बताउँछन् । विमानस्थलको उद्धघाटनको दिनसम्म पनि सो ठाउँमा पोखराको फोहोर व्यवस्थापन गरिँदै आएको थियो । अहिले पनि अस्थायी रुपमा पोखराको विभिन्न ठाउँमा फोहोर व्यवस्थापन गरेपछि स्थायी विकल्प महानगरले अझै भेटेको छैन ।

यस कारण नै नयाँ विमानस्थलको संचालनको केही हप्तामा नै जहाजमा चरा ठोक्किएको थियो । ठोक्किएको चरा लोपोन्मुख अवस्थामा रहेका गोमायू महाचिल थियो । मरेको महाचिललाई धावनमार्गबाट विमानस्थलका कर्मचारीले बडालेर व्यवस्थापन गरे ।

जहाजमा ठोक्किएको चरालाई धावनमार्गबाट बराल्दै कर्मचारी

चराविद् हेमसागर बराल पोखरामा कि एयरपोर्ट रहने कि चरा रहने बताउँछन् । ‘विमानको सुरक्षाका लागि चरा धपाउने काम गरिनुपर्छ । यस्ता बेलामा चराहरु मर्ने अवस्था आउन सक्छन् र अर्को अवस्थामा चरा उडेका कारण नै विमानस्थलमा मानवीय, भौतिक क्षति पनि हुन सक्छ’, उनले भने । बरालले जैविक विविधताले धनी रहेको पोखरा शहरमा विमानस्थलको निर्माणले त्यहाँ रहेका लोपोन्मुख अवस्थाका गिद्धलगायतका चिल तथा चराचरुङ्गीहरुको जिवनचक्र नै वादित भएको बताए । उनले भने, ‘पोखरा यस्तो शहर हो जहाँ गिद्धको ९ वटै प्रजाति पाइन्छ । यस्तो शहर संसारमा अन्त कतै छैन । तर विमानस्थल जस्तो ठूलो परियोजना आउनु, चराहरुको विकल्प बेलैमा नखोजिनुले उनीहरुको जीवन प्रक्रियामा खलल पुगेको छ ।’

पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले गिद्धलाई निगरानी गरेको १० वर्ष भइसक्यो । उनी प्रकृति संरक्षणसम्बन्धी संस्था आइयुसीएनका गिद्ध संरक्षण समूहका सदस्य पनि हुन् । अतिसंकटापन्न अवस्थामा रहेका गिद्धलगायतका चराका बारेमा पोखराले नसोचे भोली यो पुरै लोप हुने अवस्थामा आए पर्यावरणमा गम्भीर असर पुग्ने उनी बताउँछन् । ‘अन्तर्राष्ट्रियस्तरमा परियोजनाको सुरुआत गर्नुअघि वातावरण मुल्यांकन गरि यदि यसले सय प्रतिशत क्षति क्षति गर्ने देखिए ठूला परियोजनाहरु समेत स्थगित गर्नुपर्ने अवस्था आउँछ । पोखरामा यति ठूलो परियोजना हुँदा पहिलोपटकको वातावरण मुल्यांकनमा यहाँको गिद्धका विषय नै समेटिएनन् । पछि पुरक वातावरण मुल्यांकनमा मात्र यसलाई समेटियो तर गम्भीर देखिएन’ उनले भने । ढकालले गरेको निगरानीमा सो ठाउँ वरपर अतिसंकटमा रहेको गिद्धको प्रजाति मध्यको पनि लोपोन्मुख अवस्थाका डंगर गिद्ध, सुन गिद्ध, सानो खैरे गिद्धको गुँड वरपर नै छ । उनी प्रश्न गर्छन्, ‘आफ्नो गुँड छाडेर उनीहरु कसरी जान्छन् ?’

नेपालभरमा सबैभन्दा बढी चराको गतिविधि हुने ठाउँ, उनीहरुको रुट पनि हो पोखरा । गिद्धले वर्षमा एकपटकमात्र प्रजनन गर्छ र उनीहरुको जोडी (साथी) पनि एउटै हुन्छ । गुँडहरुमा यतिबेला उनीहरुका बच्चा हुर्किरहेका हुनसक्छन् । चार देखि पाँच महिनामा गिद्धका बच्चा उड्ने हुन्छन् । बच्चा नहुर्किन्जेलसम्म खान्की खोज्ने र आफ्नो गुँडमा आउँछन् गिद्धहरु । गिद्धको गतिविधि भइरहने ठाउँ विमानस्थल रहेको क्षेत्रमा उनीहरुलाई धपाउन पट्का पड्काउने, साइरन बजाउने काम भइरहेको छ । ढकाल भन्छन्, ‘यस विषयमा संवेदनशील नहुँदा मानवीय दुर्घटनासंगै वन्यजन्तुको दुर्घटना पनि हुन सक्छ । अन्तर्राष्ट्रिय रुपमा नै पोखराको नराम्रो सन्देश जान सक्छ ।’

नेपाल पंछी संरक्षण संघमा (बीसिएनमा) मा कार्यरत अंकित जोशीले गिद्ध प्रकृतिको कुचिकार रहेको बताए । ‘प्रकृतिको सरसफाइ गर्ने एक मात्र प्राणी गिद्ध हो । यदि गिद्ध नै नरहने हो भने प्राकृतिक प्रणालीमा असर पर्छ ।’ जोशिले मरेका सिनो गिद्धले नखाने हो भने त्यसबाट गम्भीर किसिमको रोगहरु सर्ने बताए । गिद्धले सिनो खाएका कारण नै वातावरण सफा हुनुका साथै गम्भीर रोगहरुबाट पनि बचाउने गरेको जोशिले सुनाए ।

गिद्धलाई वर्षोदेखि क्यामेरा कैद गरेका पत्रकार कृष्णमणि बरालले पोखराको विकास हुँदै जाँदा अतिसकंटापन्न गिद्धको जिवनचक्रमा नै असर पुगेको बताए । ‘पहिलो पोखराका खुला फाँटहरुमा घोडा, खच्चडको चरण हुन्थयो । उनीहरु त्यही मरेपछि गिद्धले त्यसलाई खाने गर्थे । अब अहिले घोडा खच्चड नहुँदा उनीहरुको खान्की छैन, चरण क्षेत्र हरायो । अहिले पोखराको कृषि भुमि संरक्षण हुन सकेन, समथर क्षेत्र नै सकियो । यसले गिद्ध लोप हुने अवस्थामा छ ’ उनले भने । उनले गुँडहरुलाई वैज्ञानिक, चराविद्हरुसंग छलफल गरेर सुरक्षित स्थानान्तरण गरिनुपर्ने बताए ।

नेपाल पंछी संरक्षण संघमा (बीसिएनमा) को पहलमा सन् २०१० मा नै कास्कीको घाचोकमा भल्चर रेष्टुरेन्ट अर्थात् गिद्धका लागि खाना राख्न सुरुआत पनि गरिएको थियो । त्यतिबेला कास्कीमा संयोजकको रुपमा काम गरेका हुम गुरुङ अहिले गिद्धहरु अन्योलमा रहेको बताउँछन् । उनले गिद्धको घर रहेको ठाउँमा अब खानाको कमी हुँदै गइरहेको र विमानस्थलमा चरा धपाइरहेको अवस्थामा उनीहरु के गर्ने भन्ने बारेमा अन्योलमा भएको हुनुपर्ने बताए । उनले भने, ‘मान्छेले जस्तो दुःख भएपनि आफ्नो घर छाडेर जाँदैनन् । उनीहरुलाई पनि त्यहाँ दुःख भएपनि छाडि हालेर जादैनन् ।’ त्यतिबेला गिद्ध रेष्टुरेन्टका लागि ठाउँ खोज्दा विमानस्थलमा असर नपर्ने गरि घाचोकमा खोजिएको गुरुङले बताए । अब गिद्ध कहाँ जालान् त भन्ने प्रश्नमा उनी भन्छन्, ‘पोखरा छाडेर कास्की वरपरको वन क्षेत्रमा जालान् तर अहिले यहाँका जंगल पनि खण्डीत हुँदैछन् । तर विस्तारै सो क्षेत्रबाट उनीहरु विस्थापित पक्कै हुनेछन् ।’

त्यसो त गिद्धलगायतका चराका लागि आफ्नो बासस्थान छाड्न कम्तीमा ६ महिना लाग्छ । चराविद्हरु भन्छन्, ‘उनीहरुको आनीबानीमा नै परिवर्तन ल्याउनुपर्ने भएकाले विमानस्थल संचालनको एक दुई वर्ष अगाडि नै ल्यान्डफिल साइट सारिएको भए अहिलेको चरा सो ठाउँमा उड्ने र धपाउनुपर्ने समस्या नै आउने थिएन ।’

सो क्षेत्रमा रहेको नहरहरुमा पनि मासुजन्य फोहोर बगाएर ल्याउदा त्यसलाई खाना गिद्ध आउने गरेको पोखरा पंक्षी समाजका अध्यक्ष घिमिरेले बताए । गिद्ध खानाको खोजीमा नै परपरसम्म पुग्छन् । खानाका लागि वैकल्पिक ठाउँ खोज्न सकियो भने पनि उनीहरुको आनीबानीमा परिवर्तन गर्न सकिने उनी बताउँछन् । गिद्धका बारेमा अध्ययन गरिरहेका हेमन्त ढकालले विशेषत् चरा ठोक्किने किसिमका दुर्घटना अवतरण र उडानका बेलामा हुने भएकाले यसबेलामा ध्यान दिनुपर्ने बताए । चराको गतिविधि विशेषत् १० बजेदेखि २ बजेसम्म बढी हुने भएकाले त्यतिबेला विमानको गतिविधि कम गर्ने र बासस्थानलाई अध्ययन गरेर सार्ने लगायतको उपाय अपनाउन सके गिद्धलगायतका चराका सुरक्षा र संरक्षण हुन सक्ने उनले बताए ।

यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले चरा र त्यसलाई व्यवस्थापन गर्ने समस्या भोगिरहेको छ । यसले लोपोन्मुख अवस्थामा रहेको गिद्धको जीवन के होला भन्ने गम्भीर प्रश्न पनि उठाएको छ । कुनै समय चरालाई देखेर जहाजको परिकल्पना गरिएको थियो । आज त्यहि जहाज उडाउन चरा आफै विस्थापित हुनुपर्ने अवस्था आएको छ ।

प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार १०:३९
हजुरको प्रतिक्रिया