पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र कर्मचारीहरुलाई ११ बुँदे निर्देशन दिएका छन् । मन्त्रालयगत छलफलपछि बिहीबार मन्त्री र सचिवलाई मुख्यमन्त्री अधिकारीले सरकारका आयोजना दोहोरोपन नहुने गरी काम गर्न, बेरुजु फछैट गर्न र अब बेरुजु हुन नदिन विशेष ध्यान दिन, प्रगतिसहितको ठोस प्रतिवेदन आवधिक रुपमा बुझाइराख्न निर्देशन दिएका हुन् ।
उनले सुशासन कायम गर्ने विषय भाषणमा मात्रै सीमित नराख्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए । ‘सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सिमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न माननीय मन्त्रीहरु र सचिवहरुलाई निर्देशन गर्दछु,’ उनले भने ।
मुख्यमन्त्री अधिकारीले दिएका सुझाव तथा निर्देशनः
-नेपालको संविधानको भावना अनुसार जनताको सर्वोपरिहित सम्बोधन हुनेगरी प्रदेश सरकार सञ्चालन गर्ने विषयमा गण्डकी प्रदेश सरकारले नेतृत्तदायी र उदाहरणीय काम गर्ने प्रयास गरेको छ । यसमा हामी सबै जिम्मेवाररूपमा प्रस्तुत हुन सक्नुपर्दछ ।
-यस शिलशिलामा प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन छरितो संरचना बनाउने निर्णय भैसकेको छ सबै मन्त्रालय र कार्यालयले वस्तुनिष्ठ संगठन संरचना निर्माण गर्न प्रमुख सचिवको अध्यक्षतामा गठित संगठन तथा व्यवस्थापन समितिलाई सहयोग गर्नुहुन अनुरोध गर्दछु ।
-जग्गा प्राप्तिको समस्याले रोकिएका आयोजना तथा कार्यक्रमहरु के के छन् ? तिनको सम्भाव्यता छ कि छैन ? ठोस सुझाव प्रस्तुत गर्नुहुन निर्देशन गर्दछु ।
-विकास आयोजनाहरुलाई गरिबी हटाउँदै समृद्धिको आधारको रुपमा सञ्चालन गर्न आयोजनाको प्राथमिकीकरण गरी तहगत सरकारका आयोजना र कार्यक्रमसँग दोहोरोपना नुहने गरी मात्र कार्य अगाडी बढाउन सबै मन्त्रालयलाई निर्देशन गर्दछु ।
-सुशासन कायम गर्ने विषय भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमा देखिने गरी कार्य गर्न माननीय मन्त्रीहरु र सचिवहरुलाई निर्देशन गर्दछु ।
-पूँजिगत खर्च बढाउने, चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य शर्त हुन् यस सवालमा अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत निर्देशन गर्दछु ।
आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्ने एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न निर्देशन गर्दछु ।
-प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्ने सम्बद्ध सबै जिम्मेवार भएर लाग्नुहोला । समपूरक, विशेष र वित्तिय समानीकरण अनुदानको गुणात्मकता ल्याउन समन्वय, सहअस्तित्व र सहकार्यको अवधारणालाई व्यवहारमा उतार्ने गरी ठोस कार्यक्रम र कार्ययोजना समन्वयात्मक ढंगबाट सम्पादन गर्नेगरी व्यवस्था मिलाउन निर्देशन गर्दछु ।
-सबै मन्त्रालयहरुले आवधिकरुपमा ठोस नतिजा सहितको कार्यप्रगतिको प्रतिवेदन गर्नुहुन निर्देशन गर्दछु ।
-यहाँहरुले हिजो र आज आ–आफ्नो मन्त्रालयका गतिविधिहरु प्रस्तुती गर्नुभयो, यसको लागि यहाँहरु सबैलाई धन्यवाद दिन चाहन्छु र आगामी प्रस्तुती थप वस्तुनिष्ठ कार्ययोजना सहित हुन निर्देशन गर्दछु ।
-सुधार नगरी सुःखै छैन, यसैले सुधार आफैंबाट सुरु गरौं । आजबाट नै गरौं ।
प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०५:५९




