२०८३ साउन २१ गते बिहीबार

किन छन् पोखरा महानगरको शिक्षामा मेयर नै असन्तृष्ट ?

किन छन् पोखरा महानगरको शिक्षामा मेयर नै असन्तृष्ट ?

विनोद ढुंगाना

@facebook

२०७९ माघ १२ गते बिहीबार ०८:०८

‘सन्तृष्टै छैन’, लामो श्वास फेर्दै मेयर आचार्यले जवाफ फर्काए, ‘देशभरीकै शिक्षामा यत्ति धेरै लगानी छ तर सन्तृष्ट हुन सक्ने ठाउँ छैन । महानगरको शिक्षामा हामीले ठुलै लगानी गरेका छौं । हाम्रो शिक्षा पराम्परागत नै छ । यो हामीले यहाँबाट मात्रै परिवर्तन गरेर हुने कुरा त भएन । तर, हामी अलिकता परम्परागत नै छौं भनेर भन्दा कुनै अफ्ठ्यारो हुँदैन।’

मेयर साप आर्थिक अभावले फिल्ड भिजिट जान पाएनौं !

पोखरा

‘पढाइ त भयो । फिल्ड भिजिट जाने भन्छौं, यो सब्जेट त प्राक्टिकल हो । आर्थिक अभावले फिल्ड भिजिट जान पाएनौं’, सरस्वती टिका माध्यमिक विद्यालयमा तीन वर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा अध्ययनरत कल्पना विकले दुुखेसो पोखिन । प्राविधिक शिक्षा पढे पनि फिल्ड भिजिटमा गएर अनुभव संगाल्न नपाएपछि सैद्धान्तिक शिक्षा र व्यवहारिक शिक्षामा फरक नभएको उनले महसुश गरेकी छन् ।

बिहिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी अन्तरसंवाद’ कार्यक्रम कल्पनाले प्राविधिक शिक्षा पढ्दै गर्दा भोगेका अनुभव मात्रै सुनाइनन्, प्राविधिक धारको शिक्षा पूरा भएपछि पनि बेरोजार बस्नुपरेको उदाहरण पेश गरिन् ।

भनिन्, ‘डिप्लोमा पढेपछि पनि धेरै दाइ दिदीहरु बेरोजगार भएर बस्नुभएको छ । उहाँहरुले रोजगार पाउनु भएको छैन । यसको कारण राजनीति हो या गल्ती हो कि हामी सिटिइभिटीमा जोइन भयौं ।’

जवाफमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्राविधिक शिक्षा लिएका कोही विद्यार्थी बेरोजगार बस्नु नपर्ने बताए ।

‘जति पनि महानगर अन्तर्गतबाट पास आउट हुनुभाछ तपाईंहरुलाई हामी कहीं न कही एडजस्ट गराउँछौं’, आश्वस्त पार्दै उनले भने ।

प्राविधिक शिक्षाका कुरा अन्तर संवादमा गण्डकी बहुप्राविधिक शिक्षालय पोखरामा अध्ययनरत विवेकबहादुर क्षेत्रीले सोधे, ‘मैले तीन बर्षे अटो मोबाइल इन्जिनियरिङ पढाइ सकेर व्यावसाय गर्न चाहे भने आर्थिक हिसाबले महानगरको कस्तो सहयोग रहनेछ ?

नयाँ काम सुरुवात गर्नलाई महानगरले केही रकम र प्राविधिक सहयोेग गर्ने मेयर आचार्यले बताए । ‘इनोभेटिभ आइडिया तपाईसँग छ । तपार्ईसँग व्यवस्थापनको ज्ञान नहुन सक्छ । बजारको विश्लेषण नहुन सक्छ आदि कुराहरुको सहयोग चाहिन्छ भने पनि उपलब्ध गराउछौैंं’, उनले भने ।

सरस्वती टिका माविका शुसिल पौडेलले ‘लर्न एण्ड अर्न’ कार्यक्रम लागु नभएकोमा गुनासो गरे । सिटिइभिटीको तीन वर्षे डिप्लोमा तहको पढाई सक्न पाँच वर्ष लाग्ने दुखान्त पनि उनले सुनाए ।

स्वास्थ्यतर्फको विषय अध्यन गरेका विद्यार्थीले पाठ्यक्रम पुरा पढेपछि पनि स्वयमसेवकको रुपमा काम गर्नुपरेको मेयरलाई सुनाए । प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा आउने अवसरका बारेमा विद्यार्थी मेयर आचार्यसँग गफिए ।

महानगरको शिक्षामा मेयर नै असन्तृष्ट !

उच्च शिक्षा अध्ययन गर्न धेरै विद्यार्थी काठमाडौंपछि पोखरा आउँछन् । धेरैको रोजाई भएको पोखराको शैक्षिक स्थिती सन्तृष्ट हुन लायक नभएको मेयर आचार्य आफैं बताउँछन् ।

मेयरसँग विद्यार्थी अन्तरसंवाद कार्यक्रमको सुरुवातमा आचार्यले बाल्यकाल अर्थात् स्कुले जीवनमा फर्किए । उनले आफ्नो पढाई, स्वभावका बारेमा सहभागी विद्यार्थीलाई सुनाए । मेयर आचार्यको शिक्षासँगै राजनीतिक जीवनबारे सुनेपछि सहजकर्ता उपेन्द्र पौडेलले प्रश्न तेर्साए, ‘महानगरको शिक्षालाई लिएर मेयर साप कत्तिको सन्तृष्ट हुनुहुन्छ ?’

‘सन्तृष्टै छैन’, लामो श्वास फेर्दै मेयर आचार्यले जवाफ फर्काए, ‘देशभरीकै शिक्षामा यत्ति धेरै लगानी छ तर सन्तृष्ट हुन सक्ने ठाउँ छैन । महानगरको शिक्षामा हामीले ठुलै लगानी गरेका छौं । हाम्रो शिक्षा पराम्परागत नै छ । यो हामीले यहाँबाट मात्रै परिवर्तन गरेर हुने कुरा त भएन । तर, हामी अलिकता परम्परागत नै छौं भनेर भन्दा कुनै अफ्ठ्यारो हुँदैन ।’ पोखराको शिक्षलाई सुधार गर्न यसअगाडिका मेयर मानबहादुर जिसीको पालामा बनेको योजनालाई कार्यन्वयन गर्ने उनले बताए ।
प्राविधिक शिक्षा तथा व्यासायीक तालिम परिषद् (सिटिइभिटि) गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षा सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल ुज्ञभएको बताए । ‘हाम्रो प्राविधिक शिक्षाको महत्व काम गर्दै आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाडी बढाउँदै लैजाने हो’, उनले भने ।

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सीनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीति मै सुधारको आवश्यकता रहेको बताए । ‘राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भइसकेको छ । अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउनेछ’, उनले भने ।

 

प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०८:०८
हजुरको प्रतिक्रिया