पोखरा
दुर्घटित विमानको अवशेष यत्रतत्र छरिएका छन् । छरिएका ती अवशेषको सुरक्षाका लागि त्रिपालले छोपिएको छ । करिब २ हप्ता बित्न लाग्दासमेत दुर्घटनास्थलमा मान्छेको चाप घटेको छैन ।
शुक्रबार त्यहाँ मान्छेको चहलपहल झनै बढ्यो ।

एकातिर बुद्ध धर्मालम्बीले आफ्नै परम्पराअनुसार पूजापाठ, अर्कोतिर हिन्दु धर्मालम्बी । बटुकहरु आफ्नो अगाडि दीयो बालेर स्वस्ति शान्ति मन्त्र पाठ गरिरहेका थिए भने लामाहरु सातुको सातुको ‘छोक’ बनाएर ‘छ्योर्मेः’ बालिरहेका थिए ।
उनीहरुभन्दा माथिल्लो भागमा गुरुङ समुदायले आफ्नै किसिमले पूजापाठ गरिरहेको थियो र सेती पारि हिन्दु परम्पराअनुसार चिरशान्ति स्मृति प्रार्थना सभामा मन्त्रोच्चारण भइरहेको थियो । मान्छेहरु आउँथे र आफूलाई पायक पर्ने र आफ्नो परम्पराअनुसार पूजापाठ भइरहेको ठाउँमा गएर फूल चढाउँथे, प्राथना गर्थे ।

७२ जनाको ज्यान जाने गरी माघ १ गते यती विमान दुर्घटना भएको पोखरा ७ र १५ को मध्यभागमा शुक्रबार देखिएको दुश्य हो यो । जहाँ दुर्घटना भएको १३ औं दिनमा पोखरा महानगरसहित विभिन्न संघसंस्था, दलले श्रद्धाञ्जली सभा तथा पूजापाठ आयोजना गरेका थिए ।
विमान दुर्घटनास्थल सेतीवारि र पारि दुवै डिलमा मृतकको आत्माको शान्तिको कामना गर्दै पूजापाठ तथा प्रार्थना गर्नेहरुको ठूलो भिड लागेको थियो । प्रार्थना सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, विभिन्न राजीनितिक दलका नेता, मृतकको आफन्तहरु उपस्थित थिए ।
दुर्घटना भएको समयलाई आधार मानेर १०ः ५८ मा महानगरले दुर्घटनामा ज्यान गुमाएका ७२ जनाकै नाममा दीप प्रज्जवलन गरेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी दुर्घटनाबाट पीडित हरेकको घरमा जान प्रयास गरेको सुनाए । ‘सबैको घरमा जान सकेनौं । तर, जहाँ पुग्यौं, हामी विह्वल भयौं । आज त्यो वेदना हाम्रो मनमा छ, छातीमा छ,’ उनले भने, ‘त्यस्ता दुर्घटनाहरु कहिल्यै नहून् ।’
मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशको शोकमा एकताबद्ध रहेको र शोकलाई शक्तिमा बदल्नुपर्ने बताए । ‘हामीले फेरि ती आला घाउहरुलाई पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गर्ने अठोट गरौं,’ उनले भने ।
उनले उद्धारमा खटिएका विभागीय टिमुसहित विभिन्न संघसंस्थालाई धन्यवाद दिए ।

पोखरा महानगरको श्रद्धाञ्जली सभामा मेयर धनराज आचार्यले नेपाली आकासमा फेरि यस्तो ठूलो दुर्घटना नहोस् भनेर कामना गरिएको र मृतकको चीरआत्माको शान्तिको कामना गरेको बताए ।
‘आज १३ औं दिनको दिनमा यस्तो घटना फेरि कहिल्यै नहोस्, नेपाली आकासमा नेपाली एअरलाइन्सको सबैभन्दा ठूलो दुर्घटना भएको छ त्यो दुर्घटना फेरि नहोस् भनेर हामीले कामना गरौं,’ मेयर आचार्यले श्रद्धाञ्जली सभामा भने, ‘सरकारले एकदम तादरुकताकाम साथ काम गरिराखेको छ र त्यो निष्कर्षमा पुग्नेछ भन्ने आशा राखेका छौं ।’
काठमाडौंदेखि पोखरा आउँदै गर्दा माघ १ गते पुरानो पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । जहाजमा ४ जना चालक दल र ६८ जना यात्रुसहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली र बाँकी विदेशी नागरिक थिए । दुर्घटनामा ३ बालक र ३ शिशुसमेत परेका थिए ।
विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म ७० जनाको शव भेटिएको छ । २ जनाको अवस्था अझै अज्ञात छ । भेटिएका शवमध्ये पोखरामा २२ र काठमाडौंमा ४८ जनाको पोस्टमार्टम गरिएको छ ।
हालसम्म ६० जनाको परिवारले शव बुझिसकेका छन् भने ६ जनाको शव डीएनए परीक्षणपछिमात्रै परिवारलाई बुझाइनेछ ।
तस्वीरहरूः विनाेद ढुंगाना/पब्लिक टिभी













