२०८३ साउन २१ गते बिहीबार

अध्यक्ष चन्द भन्छन्ः निकम्माहरुको साथ राखेपले नदेला !

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ माघ १८ गते बुधबार ०३:२६

‘मलाई लाग्छ तीन वर्षमा एउटा काम गर्न नसक्ने व्यक्तिहरुलाई जसको जनमत छैन, क्रिकेटका लागि चिन्तित छैनन् । राष्ट्रिय खेलकुद परिषद्ले पनि निकम्माहरुको साथ नदेला !’

पोखरा
नेपाल क्रिकेट संघको आन्तरिक विवाद पोखरामा आएर छताछुल्ल बनेको छ । बैठक बस्न पोखरा सोमबार पोखरा आएको क्यान विवादित त बन्यो नै, बोर्डका पदाधिकारी २ समूहमा विभाजित भएर गम्भीर आरोपप्रत्यारोपमा उत्रिए ।

पोखरा आएर पनि ६ जना सदस्यले बैठक बहिष्कार गरे । असन्तृष्ट ७ जना सदस्यले अध्यक्षसहित कार्यसम्पादन समिति सदस्यको राजीनामा माग्दै बैठक बहिष्कार गरे । मंगलबार दिनभर बस्न नसकेको बैठक साँझपख सुरु भएर सकियो ।

विवादकैबीचमा बहुमत सदस्य सहभागी भएर नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गर्ने, खेलाडीको ग्रेडिङ गर्ने निर्णय तोक्दै बैठक सकियो ।

मंगलबार अबेर सकिएको बैठकका निर्णयबारे संघले बुधबार दिउँसोमात्रै आधिकारिक पत्रकार सम्मेलनमार्फत जानकारी दिए पनि पूर्वकप्तान सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय राति नै चुहिइसकेको थियो ।

नाबालिग बालिका बलात्कार विषयमा मुद्दा विचाराधीन हुँदाहुँदै क्यानले निलम्बन गरेपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।

क्यानको विवाद र आलोचना एकातिर छँदैछ । आरोपप्रत्यारोप सहितको जुहारीले क्यानको भविष्यमाथी नै खतरा बढाएको छ ।

पोखरा बैठकमा भएका निर्णय सार्वजनिक गर्नलाई बुधबार आयोजित बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले असन्तृष्ट समूहलाई निकम्माको संज्ञा दिँदै जुहारी फर्काए ।

मंगलबार साँझ असन्तृष्ट समुहका ६ जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षको राजीनामा माग गर्दै यो नेतृत्वले नेपाली किक्रेटलाई दलदलमा फसाउने आरोप लगाएका थिए ।

‘क्रिकेट विधान अनुसार चल्छ । यसको निरुपण गर्ने थलो साधरणसभा हो । त्यो साधरणसभा फेस गरे भइहाल्यो बाबा । त्यसभन्दा क्लियर अरु भन्नु पर्छ ? अनावश्यक दबाब दिएर …’ राजनीमाको विषयमा जवाफ फर्काउँदै चन्दले भने, ‘मलाई लाग्छ तीन वर्षमा एउटा काम गर्न नसक्ने व्यक्तिहरुलाई जसको जनमत छैन, क्रिकेटका लागि चिन्तित छैनन् । राष्ट्रिय खेलकुद परिषद्ले पनि निकम्माहरुको साथ नदेला !’

उनले अगाडि भने, ‘निकम्माहरु, खाली गीत गाउँदै हिँड्नेहरुको साथ दिन्छ जस्तो लाग्दैन भन्ने मेरो आग्रह हो ।’

असन्तृष्ट समूहको विवादले नेपाली क्रिकेट खतरामा फस्ने चन्दको दाबी छ । नेपालमा आयोजना हुने खेलहरु प्रभावित पार्न खोजेको उनले आरोप लगाए ।

‘दुई चार दिन यस्तै गीत गाउन खोजिरह्यो भने आइसिसी चुप्प लागेर बस्छ जस्तो लाग्दैन । त्यस कारण उहाँहरुको कारण नेपाल क्रिकेट संघ निलम्बनको खतरा हुन सक्छ,’ उनले भने ।

पदाधिकारी हटाउनलाई नेपाल क्रिकेट संघको विधानको धारा ३५ (१) को सहारा लिनलाई असन्तृष्ट पक्षका सदस्यहरुलाई अध्यक्ष चन्दले सुझाव दिए ।

‘धारा ३५ (१) मा के भनिएको छ भने अघिल्लो साधरणसभाका ३३ प्रतिशत सदस्यले लिखित रुपमै विशेष साधारणसभा माग गरेमा २१ दिनभित्र हामी त्यसै हटिहाल्छौं नि’, चन्दले भने, ‘३५ दिन भनेको छ । हामी ३५ दिन कुर्दैे कुर्दैनौं नि । उहाँहरुमा त्यत्तिको ल्याकत छ भने ३३ प्रतिशत सदस्यलाई.. फेरि हटाउन त ६६ प्रतिशत चाहिन्छ विधानले । ५१ प्रतिशत पु¥याउनु भो भने हामी त्यहीं दिन छाड्छौं ।’

क्यानको गभर्निङ काउन्सिलको संयोजक रहेका कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लले भने राजीनामा दिएका छन् । उनको राजीनामालाई क्यानले अनुमोदन गर्दै दुर्गाराज पाठकलाई कार्यवहाक सचिवको जिम्मा तोकेको छ ।

नैतिकता देखाएर आफूले गर्भनिङ काउन्सिलबाट राजीनामा दिएको मल्ल दाबी गर्छन् । ‘गर्भनिङ काउन्सिलको संयोजकको रुपमा लिगलाई लिड गरेको मान्छे हो म । कुरा आइसकेपछि त्यसलाई जवाफ दिनपर्छ । मान्छेमा एउटा नैतिकता हुनपर्छ । संघलाई विघटन गराउने र दुर्घटना गराउने जुन साथीहरुले खेल खेलिरहनुुभएको छ त्यो अस्वीकार्य छ ।’

खेलाडीको ग्रेडिङ

बैठकले खेलाडीको ग्रेडिङ गरेको छ । २०२३ को जनवरीदेखि जुनसम्म ६ महिने करार सम्झौता नविकरण गर्दै क्यानले खेलाडीको ग्रेडिङ गरेको हो । पुरुषतर्फका १८ र १२ महिला खेलाडीको ग्रेडिङ गरेको हो ।

पुरुषतर्फ ग्रेड ‘ए’ बाट पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ‘बी’ मा झरेका छन् । पूर्वकप्तान सन्दीप लामिछाने ग्रेडमै समेटिएका छैनन् ।

ग्रेड ‘ए’ मा ५, ग्रेड ‘बी’ मा ३ र ग्रेड ‘सी’ मा १० जना परेका हुन् । ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन् । ग्रेड ‘बी’ मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल समेटिए ।

ग्रेड ‘सी’ मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परे ।

महिलातर्फ १२ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टका लागि ग्रेडिङमा अटाए । क्यानले महिलातर्फ १८ जना खेलाडीबाट ६ जना घटाएको छ । ग्रेड ‘ए’ र ‘बी’ ३÷३ जना पर्दा ६ जनलाई ग्रेड ‘सी’ मा अटाइएको छ ।

ग्रेड ‘ए’ मा रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा अटाउँदा ग्रेड ‘बी’ मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य परे ।

कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम ग्रेड ‘सी’ मा छन् ।

यस्तै बैठकले गण्डकीका बाग्लुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ । अनुमोदनका लागि आगमी बार्षिक साधरणसभामा पेश हुने जनाइएको ।

नेपाल किक्रेट संघको विशेष साधरणसभा आगामी जेठ मसान्तसम्म आयोजना गरि जिल्ला प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय भएको छ ।

र्यकाल सकिन ४ महिना अगाडि नै क्यानले निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति २०७९ माघ १८ गते बुधबार ०३:२६
हजुरको प्रतिक्रिया