पोखरा
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । सोमबार उनको मात्रै उम्मेदवारी परेको थियो ।
राष्ट्रिय सभाको बैठकमा औपचारिक घोषणा गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो । आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।
अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।
नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् ।
प्रकाशित मिति २०७९ माघ २३ गते सोमबार ०१:१७