२०८३ साउन २१ गते बिहीबार

इन्जिनले पावर नदिँदा यतीको जहाज पाेखरामा खसेको प्रारम्भिक अनुमान

इन्जिनले पावर नदिँदा यतीको जहाज पाेखरामा खसेको प्रारम्भिक अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २४ गते मंगलबार १०:४६

९एन–एएनसी कलसाइन नम्बरको एटिआर जहाज अवतरणका लागि राइट एंगलबाट मोडिँदा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको अनुसन्धानमा देखिएको छ । इन्जिनका प्रोपेलर (पंखा) फेदरमा जानु भनेको इन्जिन चलिरहे पनि पावर कम हुँदै जानु हो ।

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुवै इन्जिनले पर्याप्त पावर दिन नसक्दा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको दुर्घटना जाँच आयोगले प्रारम्भिक ठहर गरेको छ । ९एन–एएनसी कलसाइन नम्बरको एटिआर जहाज अवतरणका लागि राइट एंगलबाट मोडिँदा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको अनुसन्धानमा देखिएको छ । इन्जिनका प्रोपेलर (पंखा) फेदरमा जानु भनेको इन्जिन चलिरहे पनि पावर कम हुँदै जानु हो ।

१ माघमा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’मा रहेको फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट इन्जिनका प्रोपेलर फेदरमा गएको देखिएको हो । सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टिएसआइबी)मा लगेर फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गरिएको थियो । डाटा विश्लेषणका लागि सिंगापुर गएका आयोगका पदाधिकारी काम सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् ।

दुर्घटना जाँच आयोगका अनुसार जहाजका दुबै इन्जिनका प्रोपेलरहरू फेदरमा किन गयो भन्ने अझै खुलेको छैन । प्रोपेलर फेदरमा जानुको रहस्य खोतल्न प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको पर्यटन मन्त्रालयका सहसचिव एवं आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए ।इन्जिनले जहाजलाई अगाडि तान्न प्रोपेलरको एंगल मिलाउनुपर्छ । पोखरा दुर्घटनामा प्रोपेलरको एंगल नमिलेको जस्तो अध्ययनले देखाएको छ । जहाजको प्रोपेलरको एंगल नमिल्दा जहाज मोडिन पनि नसक्ने अर्का हवाई इन्जिनियरले बताए । त्यस्तो बेलामा जहाज ‘नेगेटिभ एंगल’मा हुने बताइन्छ । जहाजको प्रोपेलर फेदरमा जानु भनेको इन्जिन बन्द हुनु बराबर भएको ती इन्जिनियरको भनाइ छ ।

उडिरहेको जहाजको प्रोपेलर फेदरमा जानुमा मानवीय वा प्राविधिक जुनसुकै कारण हुन सक्छ । कतिपय अवस्थामा मानवीय र प्राविधिक दुवै त्रुटि पनि हुन सक्ने बताइन्छ । यतीको एटिआर–७२ दुर्घटनामा मानवीय वा प्राविधिक कसको कमजोरी थियो ? यसबारे थप अध्ययन सुरु भइसकेको आयोगका सदस्य सचिव लामिछानेले बताए । जहाजको फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरका डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा टिएसआइबी सिंगापुर, बिइए फ्रान्स, टिएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र इएएसएका प्रतिनिधिसमेतको सहभागिता थियो । सबै पदाधिकारी तथा विज्ञहरूबाट सिंगापुरस्थित एटिआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाइट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको आयोगका सदस्यसचिव लामिछानेले बताए ।

जहाज दुर्घटनाको अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले आयोगले हालसम्म प्राप्त सूचना, तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई उडानमा थप सुरक्षा अभिवृद्धि गर्न सम्बन्धित निकायलाई तत्कालै अपनाउनुपर्ने सुरक्षात्मक उपायहरू सिफारिससहितको प्रारम्भिक प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । पोखरामा जहाज दुर्घटना हुनेबित्तिकै पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति २०७९ माघ २४ गते मंगलबार १०:४६
हजुरको प्रतिक्रिया