२०८३ साउन २१ गते बिहीबार

६ लेनका बाटोमा २ लेनका जीर्ण पुल, सधैं दुर्घटनाको जोखिम !

६ लेनका बाटोमा २ लेनका जीर्ण पुल, सधैं दुर्घटनाको जोखिम !

विकास मगर

@Bikashh1997

२०७९ माघ २८ गते शनिबार ०८:२५

यो समस्या पृथ्वीचोकस्थित सेती नदी (चाइनिज पुल)को मात्रै होइन । नयाँ एअरपोर्ट सञ्चालनमा आएसँगै विकल्पका रुपमा राखिएका सेतीमाथि बनेका महेन्द्रपुल, मितेरी पुल, रामघाट पुल, नारायणथान पुल पनि बाटोभन्दा साना छन् । ती पुल सानामात्रै छैन, निर्माण भएको दशकौं बित्दा जीर्णसमेत भइसकेका छन् ।

पोखरा
६ लेनमा फैलिएको बसपार्क हुँदै जाने पृथ्वीराजमार्गको मुखैमा २ लेनको साँघुरो पुल हुँदा सधैं ट्राफिक जाममात्रै नभई दुर्घटनाको उच्च जोखिममा छ । २०२७ सालमा चिनियाँ सरकारको सहयोगमा बनेको पुल सडक विस्तार भएर ६ लेन भइसक्दासमेत हालत उस्तै छ । त्यसमाथि बर्सेनि जीर्ण बन्दै गइरहेको छ ।

साँघुरो पुल तरेर पोखरा बसपार्क पुगिन्छ । त्यहाँ बसपार्कमात्रै नभएर, अस्पताल, ट्राफिक कार्यालय, सस्तोबजार एकै ठाउँ हुँदा सधैंभरी भिडभाड रहन्छ । जसका कारण दैनिक सानाठूला दुर्घटना भइरहन्छन् । साँघुरो पुल हुँदा पोखरा रंगशाला क्षेत्र (बुद्धचोक)बाटै जाम हुन सुरु गर्छ ।

पुल साँघुरो हुँदा सवारी चाप तथा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शाह सुनाउँछन् ।

‘६ लेनको बाटोमा साँघुरो पुल छ । त्यसले गर्दा पनि पृथ्वीचोकमा ट्राफिक भार पर्न जान्छ,’ उनी भन्छन् । उनी चाइना पुल विस्तार नगर्दासम्म पृथ्वीचोकमा जामको समस्या कमी नहुने सुनाउँछन् ।

तर, यो समस्या पृथ्वीचोकस्थित सेती नदी (चाइनिज पुल)को मात्रै होइन । नयाँ एअरपोर्ट सञ्चालनमा आएसँगै विकल्पका रुपमा राखिएका सेतीमाथि बनेका महेन्द्रपुल, मितेरी पुल, रामघाट पुल, नारायणथान पुल पनि बाटोभन्दा साना छन् । ती पुल सानामात्रै छैन, निर्माण भएको दशकौं बित्दा जीर्णसमेत भइसकेका छन् ।

बाटोलाई नै खुम्च्याउने गरी बनेका ती पुल विस्तार गर्न तत्काल कुनै योजना नभएको सडक डिभिजन कार्यालय कास्की प्रमुख पारस हमाल बताउँछन् । पोखराकै फिर्के खोलामाथि बनिरहेको फिर्के पुल पनि साँघुरो भएकै कारण दैनिकजसो दुर्घटना व्यहोर्नु परिरहेको छ ।

६ लेनको बाटोमा जम्मा २ लेनको पुल हुँदा प्रायः रातको समयमा त्यहाँ दुुर्घटना हुने गर्दछ । सडक विभागले पुल विस्तारको काम गरिरहेको भए पनि लामो समयसम्म पूरा हुन सकेको छैन ।

चाख्लो र सीधा बाटो एक्कासि साँघुरिँदा अधिकांश दुर्घटनामा पर्ने गरेका फिर्केपुल नजिकका प्रत्यक्षदर्शी बताउँछन् ।

सडक डिभिजन कार्यालय कास्की प्रमुखका अनुसार हाल कार्यालयमार्फत फिर्के पुल विस्तार भइरहेको छ भने पृथ्वीचोकस्थित चाइना पुल विस्तार गर्ने पनि योजना छ ।

‘अरु पुलहरु ठूलो बनाउने अहिले कुनै योजना छैन । तर, अहिलको योजना भनेको चाइनिज पुलको हो,’ उनले भने, ‘त्यो केही दिनमा टेन्डर प्रक्रियामा जान्छ ।’

यातायात व्यवस्था कार्यालय पोखराका अनुसार गण्डकीमा हालसम्म ३ लाख दुई पांग्रे र ६० हजार चार पांग्रे सवारी साधन दर्ता भइसकेका छन् । कार्यालयका सूचना अधिकारी लक्ष्मीभद्र वाग्लेका अनुसार दर्ता भएकामध्ये ९० प्रतिशतभन्दा बढी पोखरा क्षेत्रमै गुड्छन् ।

भन्छन्, ‘ठ्याक्कै कति गाडी अहिले गुडिरहेका छन् भन्ने तथ्यांक हुँदैन । तर, यहाँ दर्ता भएका अधिकांह गुड्ने भनेको यही बजार क्षेत्रमा हो ।’

दैनिक २ लाखभन्दा बढी सवारीसाधन गुड्ने पोखराका सडका सुरक्षाका लागि ट्राफिक कार्यालयमा २८ जना कर्मचारीको दरबन्दी छ । जसमा प्रहरी कार्यालयबाट तानतुन गरेर ९८ जना ट्रापिक व्यवस्थापनमा खटिएको प्रमुख शाह सुनाउँछन् ।

तत्कालीन मेयर मानबहादुर जिसीको पालामा विभिन्न चोकमा भएका आइल्यान्डले सडक साँघुरिएको भन्दै चोकमा रहेका विभिन्न व्यक्तिका शालिक सार्ने योजना ल्यायो ।

सडक विस्तार गर्न भन्दै चोकचोकका आइल्यान्ड भत्काएको पनि थियो । त्यसलाई गम्भीर तरिकाले कार्यान्वयन नगर्दा सडकका शालिक पोखरा १८ स्थित सहिद पार्कमा पुग्न सकेका छन् ।

बर्सेनि सवारी साधन थपिँदै जाँदासमेत सडक तथा ट्राफिकको व्यवस्थापनमा वृृद्धि हुन सकेको छैन । आवश्यक पूर्वाधार विकास नभएकै कारण गत माघ १ गते पोखरामा भएको यती विमान दुर्घटनाको उद्धारमा हिँडेका उद्धार टोली नै आफ्नो सवारी छोडेर पैदल हिँड्नुपरेको थियो ।

पोखरा महानगरले अघिल्लो सोमबार ट्राफिक जाम समस्या निम्त्याएको भन्दै २३ गतेदेखि मुख्य बजार क्षेत्रमा सडक पार्किङ बन्द गर्ने सूचना जारी ग¥यो । सडकको एक भागमा पार्किङ गर्दा सहर अशोभनीयसहित अत्याधिक सवारी जामको समस्या निम्त्याएको महानगरको तर्क थियो ।

तर, व्यवसायी तथा सरोकारवाला निकायबाट बिना विकल्प सडक पार्किङ बन्द गर्न नहुने भन्दै विरोध जनाएपछि एक हप्ता नहुँदै महानगर उक्त सूचनाबाट पछि हट्न बाध्य भएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती अब केही दिनमा सरोकारवाला निकायसँगग छलफल गरेर उनीहरुको सहमतिमा मात्रै सडक पार्किङ बन्द गरिने बताउँछन् ।

प्रकाशित मिति २०७९ माघ २८ गते शनिबार ०८:२५
हजुरको प्रतिक्रिया