२०८३ असोज २४ गते शनिबार

त्रिपालले छोपिएको बतासको अक्सिजन प्लान्ट

त्रिपालले छोपिएको बतासको अक्सिजन प्लान्ट

विनोद ढुंगाना

@Facebook

२०७९ फागुन ७ गते आइतबार ०५:०४

महामारीको बेला चन्दा संकलन गरेर बतास फाउन्डेसनले मंसिरमा हस्तानतरण गरेको अक्सिजन प्लान्ट ‘लगनपछिको पोते’ भएको छ नै, सञ्चालनमा नल्याइकन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा बेवारिसे छ ।

पोखरा

कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि पोखरामा अक्सिजनको हाहाकार नै मच्चियो ।

२०७८ जेठको दोस्रो साता अक्सिजन अभावकै कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ८ जना कोरोना संक्रमितले एकै रातमा ज्यान गुमाए । संक्रमितको आफन्तले अक्सिजनको जोहो गर्नलाई युद्ध नै जित्नुपथ्र्यो ।

अक्सिजनको हाहाकार मच्चिएकोबेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा प्लान्ट निर्माण गर्ने उद्देश्यले बतास फाउन्डेसनले एउटा अभियान सुरु ग¥यो, ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं ।’

बतास फाउन्डेसनले ‘एक थुकी सुकी, हजार थुकी नदी’ नाराका साथ सुरु गरेको अभियानमा कर्पोरेट हाउसदेखि देशविदेशमा रहेका नेपालीबाट ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भयो ।

अक्सिजनको हाहाकार मच्चिएको बेला ज्यान जोगाउने उद्देश्यले संकलित रकमले त्यति नै बेला अक्सिजन प्लान्ट स्थापना हुन सकेन । तेस्रो लहरमा पनि दाताबाट उठाइएको रकमबाट अक्सिजन प्लान्ट खुलेन ।

त्रिपालले छोपिएको अक्सिजन प्लान्ट

अक्सिजन प्लान्ट निर्माणमा ढिलाइका कारण सहयोग दाताले नै चर्को आलोचनासहित प्रश्न उठाउन थालेपछि जेठमा फाउन्डेसनले स्पष्टिकरण दिँदै भन्यो, ‘कार्गो कम्पनी र आयतकर्ताबीचको असमझदारीको कारण प्लान्ट ल्याउन ढिलाइ भयो ।’

कोरोना महामारीको त्रासदी सकिएपछि बतास फाउन्डेसनले मंसिर २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट हस्तानतरण गरेको छ ।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार दैनिक १ सय ५० सिलिन्डर उत्पादन क्षमताको अक्सिजन अस्पताललाई हस्तानतरण गरिएको हो । ‘आवश्यक पूर्वाधार निर्माण भएपछि उक्त प्लान्ट जडान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

३ वटा प्लान्ट र एउटा फिलर सिस्टम बतासले अस्पताललाई दिएको छ ।

महामारीमा चन्दा संकलन गरेर किनिएको अक्सिजन प्लान्ट ‘लगनपछि पोते’ त भएको छ नै । बतासले अस्पताललाई हस्तान्तरण गरेको साढे २ महिनासम्ममा पनि प्लान्ट र फिलर अस्पताल परिसरमा बेवारिसे छन् ।

प्लान्ट र फिलर अस्पतालको निर्माणाधिन भवनमा थन्काइएको छ । निर्माणाधिन खुला भवनमा बिना सुरक्षा अक्सिजन प्लान्टलाई त्रिपालले छोपेर राखिएको हो ।

अस्पतालका सूचना अधिकारी सुमन भट्टराई अक्सिजन जडानकै चरणमा रहेको बताउँछन् ।

‘हामीलाई यहाँ हस्तान्तरण भएको धेरै पनि भएको छैन, भर्खर भर्खरै नै हो,’ उनले भने ‘त्यसको इन्स्टल हामीहरुले उनीहरुलाई नै गर्दे भन्या छौं । त्यो इन्स्टलेसन्सको चरणमै छ ।’

अस्पताललाई तत्काल थप अक्सिजन प्लान्ट आवश्यक नरहेको सूचना अधिकारी भट्टराई बताउँछन् ।

अस्पतालमा यसअगाडि नै ३ वटा प्लान्ट जडान भइसकेको छ । अस्पतालमा कोरोना महामारीकै बेला प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले दैनिक २ सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट दिएको थियो ।

योसहित स्वास्थ्य मन्त्रालय र अस्पतालको भवन पुनर्निर्माण गर्ने सम्झौता अनुसार जडान भएको अक्सिजन प्लान्टबाट दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

बतासले दिएको अक्सिजन प्लान्ट अस्पताललाई आवश्यक नै नभएको अस्पताल निर्देशक डा. भरत खत्री बताउँछन् । यो प्लान्ट जडान भएपनि अस्पताललाई आर्थिक भार मात्रै थपिने उनको भनाइ छ ।

निर्माणाधिन भवनमा बिना सुरक्षा किन अक्सिजन प्लान्ट राखिएको प्रश्नमा डा भरत भन्छन्, ‘उहाँहरु (बतास फाउन्डेसन)लाई हामीले राख्न दिएको हो । इन्स्टल गर्नु हामीले भनिसकेका छौं । इन्स्टल गर्दिनुभाछैन । खास यो काम पनि छैन त्यति छन् त । त्यो हामीलाई आवश्यक भन्दा बढी नै हो ।’

निर्माणधीन भवनमा राखिएको अक्सिजन प्लान्ट

निर्देशक खत्रीका अनुसार ठाउँ दिन्छौं तपाईहरुले इन्स्टल गरेर हस्तानतरण गर्नुस भनेर त्यहाँ राख्न मात्रै दिइएको हो । उनले यहाँ आवश्यक नभएको अन्तै दिनुस् भनेर बतास फाउन्डेसनलाई पटकपटक अनुरोध गरेको बताउँछन् ।

‘यो हामीलाई आवश्यकता छैन अहिले । सुरुमा भएको भए आवश्यकता थियो,’ डा खत्रीले भने, ‘हामीले ठाउँ मात्रै दिने हो । अरु गर्ने काम उहाँहरुकै हो ।’

अक्सिजन प्लान्ट आवश्यक नरहेको जानकारी छैनः फाउन्डेसन

अस्पतालले बारम्बार थप अक्सिजन प्लान्ट आवश्यक नरहेको बताइरहे पनि बतास फाउन्डेसनले भने आफूहरुलाई जानकारी नदिएको स्पष्टिकरण दिएको छ ।

फाउन्डेसनका प्रवक्ता नारायणप्रसाद पौडेल भन्छन्, ‘अस्पतालमा लगेर बुझा’को हो चिठ्ठीसहित । सञ्चालनमा ल्याउनुस् भनेको हो । त्यसपछि उहाँहरुले हामीलाई केही भन्नुभएको छैन ।’

फाउन्डेसनका पौडेल अस्पताललाई आवश्यक नभएको भए बुझ्नै नहुने तर्क राख्छन् । ‘किन फ्याँकाफ्याँक गर्नुप¥यो र पैसा हालेर ल्याको कुरा  ?’ उनको प्रश्न छ ।

अस्पताललाई आवश्यक नभए कुनै अर्को सरकारी अस्पताललाई दिएर सदुपयोग गर्नुपर्ने पौडेलको सुझाव छ । ‘उहाँहरुलाई नचाहिने हो भने अर्को कुनै ठाउँमा हस्तान्तरण गर्न सक्ने, आवश्यक कसलाई छ त्यो पनि एकचोटि हामीहरु बसेर सल्लाह गर्नुपर्ला’, उनले भने ।

अस्पताललाई हस्तान्तरण गरेकाले प्रयोगमा ल्याउनुपर्ने तर्क बतास फाउन्डेसनको छ ।

गण्डकीका ९ जिल्ला अक्सिजन प्लान्ट

संघ सरकार र प्रदेश सरकारको लगानीमा गण्डकी प्रदेशको मनाङ मुस्ताङबाहेक ९ वटै जिल्लामा अक्सिजन प्लान्ट जडान भएका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाहेक बाग्लुङ, लमजुङ र नवलपुरमा मात्रै अक्सिजन प्लान्ट नियमित सञ्चालन भइरहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठले जानकारी दिए ।

‘कोभिडको बेलामा सबै प्लान्टहरु सञ्चालन भयो । अहिले नियमित सञ्चालनमा धेरै प्लान्ट छैनन्’, उनले भने, ‘सञ्चालन खर्च नै मंहगो पर्ने रहेछ । प्लान्ट सञ्चालन गरेपछि बिजुलीको मात्रै मासिक ४÷५ लाख रुपैयाँ आउँछ ।’

प्रकाशित मिति २०७९ फागुन ७ गते आइतबार ०५:०४
हजुरको प्रतिक्रिया