समितिमा ११ सदस्य रहने
पोखरा
गण्डकी प्रदेश सभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रदेश सभाको बुधबारको बैठकमा नेकपा एमाले सांसद गोविन्दबहादुर नेपालीले ११ सदस्य रहने मस्यौदा समिति गठनको प्रस्ताव प्रस्तुत गरे ।
उनको प्रस्तावको समर्थक कांग्रेसका विन्दुकुमार थापा र प्रस्तावक नेकपा माओवादी केन्द्रकी सुशीला सिम्खडा रहे । प्रस्ताव बुधबारकै बैठकबाट पारित भएको छ ।
समितिमा नेपाली कांग्रेसबाट विन्दुकुमार थापा, चम्पादेवी खड्का, महेन्द्रध्वज जिसी, नन्दप्रसाद न्यौपाने, नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली, सुधिरकुमार पौडेल, भीमबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सुशीला सिम्खडा, कुसुम बुढा, फणीन्द्र देवकोटा र राप्रपाकी विन्दु अधिकारी पहाडी सदस्य छन् । यीमध्ये एक जनालाई समितिको सभापति चयन गरिने सांसद नेपालीले जानकारी दिए ।
यो समितिलाई फागुन मसान्तसम्मको समय दिइएको छ । गण्डकीमा मन्त्रालय संख्या घटाइएपछि प्रदेश सभा नियमावली, २०७४ मा संसदीय समितिको कार्यक्षेत्र हेरेफेर र केही भाषिक संशोधन गर्नुपर्ने आवश्यकता छ । यो समितिले हालको नियमावलीमा संशोधनसहित प्रदेश सभा नियमावलीको मस्यौदा तयार गर्ने छ ।
प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०४:१९




