२०८३ साउन २१ गते बिहीबार

समाचार

आज राष्ट्रपतिका लागि मनोनयन, कांग्रेसबाट रामचन्द्रको सम्भावना

आज राष्ट्रपतिका लागि मनोनयन, कांग्रेसबाट रामचन्द्रको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १३ गते शनिबार ०९:२२

नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने पक्कापक्की छ

पाेखरा

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच/पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ। मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ

नेपाली कांग्रेसबाट बरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने पक्कापक्की छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्।

अहिलेको सत्ता गठबन्धन बनाउन निर्णायक भूमिका खेलेको नेकपा एमाले ले भने बदलिएको परिस्थितिमा पार्टीको तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरेको छैन। राष्ट्रपतिबारे निर्णय गर्न एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास भएको हो। राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।

 

प्रकाशित मिति २०७९ फागुन १३ गते शनिबार ०९:२२
हजुरको प्रतिक्रिया