पोखरा
नारायणप्रसाद पौडेलले पोहोर फलाएको आलुले बजार पाएन । पसिना बगाएर फलाएको आलु नबिक्दा कुहाएरै फाल्नुप¥यो ।
कास्कीको मादी गाउँपालिका–१२, भगवतीटारको माटो आलु खेतीका लागि उपयुक्त छ । दुख गरेर फलाएको आलु बिक्री नभएपछि नारायणप्रसादलाई आलु खेतीमै मन मर्न लागिसकेको थियो ।
तर, वडा कार्यालयले बजार व्यवस्थापनको आश्वासनसहित ५० प्रतिशत अनुदानमा बिउ दिएपछि पौडेलले फेरि जाँगर चलाए । ३० किलो आलु लगाएका उनलाई मौसमले साथ नदिएपनि राम्रै फल्यो ।
पोहोरजस्तो साँच्चै यसपटक घरमै आलु कुहाएर फाल्नु परेन । पौडेलले पहिलो चरणमा लगाएको आलु खेतबाट घरमा थन्काएको हप्तादिनमै बिक्री भएको छ । उनले शनिबार एकैदिन १ सय ५९ किलो बिक्री गरे ।
वडाले पहिलोपटक आँगनमै आलु महोत्सव आयोजना गरेपछि पौडेलको आलुले बजारसँगै मूल्य पायो । महोत्सवमा आएका उपभोक्ताले खोसाखोस गरेरै उनको आलु किने । ‘महोत्सवले आलु बेच्न एकदम सहज भयो । पहिला हाम्ले नबिकेर कुहिएर पनि फ्याँकियो,’ खुसी हुँदै उनले भने, ‘आलु बिकेन भन्ने हाम्रो गुनासो थियो । महोत्सव राख्नाले सहज भयो ।’

नारायणप्रसादसहित भगवतीटारका ३७ किसान आबद्ध भएर भवगतीटार हराभरा कृषक समूह सञ्चालन गरेका छन् । कृषक समूहले शनिबार महोत्सवमा ५ हजार किलो बढी आलु बिक्री गरे ।
आलुमात्रै होइन गाउँमा उत्पादन भएको साग, गुन्द्र्रुक, निउरो, रातो अनादीको चामल, मुला, गोलभेंडा, काउली, बन्दा र महको पनि व्यापार भयो । सिजन नभएकाले थोरै थिए । तर, एकछिनमै बिक्री भयो ।
महोत्सवस्थलमा राखिएको आलुको पहाड एक दिने महोत्सव नसकिँदै सकियो । भगवतीटारको आलु गाउँमै खोसाखोस भयो । किसानले बजारको चिन्ता लिनुपरेन । छिमेकी गाउँबाट आएका उपभोक्ताले भगवतीटारको आलु स्वादिलो हुने भन्दै बोराका बोरा उठाए ।
मादी गाउँपालिका–१०, मकैखोलाकी संगीता परियारले ३० किलो आलु खरिद गरिन् । ‘गाउँमै उत्पादन भएको सुगरका रोगीले पनि खान मिल्ने भएकाले किनें’, आलुको बोरा बोक्दै गर्दा भेटिएकी उनले भनिन् ।
परियार बजारको तुलनामा सस्तोमा पाएको भन्दै हर्षित थिइन् । उनले भनिन्, ‘बजारमा ७० रुपैयाँसम्म पर्छ, आलुको मूल्य । आफ्नै गाउँमा उत्पादन गरेको सस्तो पनि प¥यो ।’

किसानले उत्पादन गरेको आलु बिचौलियाबिना उपभोक्ताले भनेकै मूल्यमा पाए । जसका कारण किसान र उपभोक्ता दुबै प्रफुल्ल देखिन्थे । रातो आलु प्रतिकिलो ४० रुपैयाँ र निलो सुगरफ्री आलु ५० रुपैयाँमा बिक्री भएको छ ।
मादी–१०, कसेरीकी छली परियारले पनि ३० किलो आलु खरिद गरिन् । उनका अनुसार कसेरीमा आलु खेती हुँदैन । महोत्सव हेर्न आएकोबेला आलु किनेको परियारले बताइन् । ‘महोत्सव हेर्न आएको आलु सस्तो पनि रहेछ । राम्रो पनि रहेछ र किनें,’ उनले भनिन् ।
कृषि ज्ञान केन्द्र कास्की, मादी गाउँपालिको कृृषि शाखाले अनुदानमा यो वडामा मात्रै ६ हजार किलो आलुको बिउ बाँडेको थियो । २ चरणमा लगाइएको आलु ५० हजार किलो उत्पादन गर्ने लक्ष्य छ । पहिलो चरणमा लगाएको आलु किसानले थन्काइसकेका छन् ।
दोस्रो चरणमा लगाएको खन्न बाँकी नै छ ।
‘वडालाई आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना’
वडालाई आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने योेजनाअगाडि सारेको वडाध्यक्ष कृष्णराज दाहालले बताए । भगवतीटारसँगै भुम्लेबजार र मौरीबिसे फाँट आलु खेतीका लागि प्रख्यात छन् ।
कुनै समय भगवतीटारमा फलेको आलु पोखरासम्म पुग्ने गरेको वडाध्यक्ष दाहालले बताए ।
‘हिजो पोखराका व्यक्तिहरु आलु किन्न भगवतीटार जाउ भन्ने हुन्थ्यो । आज यो ठाउँबाट विस्तारै आलु रोप्ने क्रम हरायो,’ उनले भने, ‘हामीले लोप हुँदै गरेको उत्पादन जो थियो त्यसलाई पहिचान गराउँ र त्यसलाई विस्तारै किसानलाई आत्मानिर्भर बनाउ भनेर लागेका छौं ।’

वडाले अर्गानिक उत्पादनमा जोड दिएको वडाध्यक्ष दाहाल बताउँछन् । अनुदानमा आलुसँगै तोरी र मुसुराको विउ समेत बाँडेको उनले जानकारी दिए । वडाका ५ सय घरधुरीमा एक हजारका दरले प्याजका बेर्ना बाँडेको उनले सुनाए ।
वडाले आलु महोत्सव गरेर बजारीकरणमा सघाएपछि भगवतीटारका किसान हौसिएका छन् । गाउँमा कोल्डस्टोर भइदिए किसानले उत्पादन दोब्बर बढाउने बताउँछन् ।
प्रकाशित मिति २०७९ फागुन १३ गते शनिबार ०८:१८



