२०८३ साउन २१ गते बिहीबार

गोरखामा सडक नभएको ठाउँमा पुल बनाएकोमा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोरखामा सडक नभएको ठाउँमा पुल बनाएकोमा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १४ गते आइतबार ०४:०१

५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टाविरुद्ध ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखाको गोरखा नगरपालिका वडा नं. ३ जरेवरस्थित दरौदी नदीमाथि सडकबिना मोटरेबल पुल बनाएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मरहठ्ठाविरुद्ध मुद्दा दायर गरेको हो ।

सोही कसूरमा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गुरुयोजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै श्रेष्ठमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार विगो मागदाबी गरेको छ । अख्तियारले ढुङ्गानामाथि बदनियतपूर्वक गुरुयोजना बनाएको आरोप लगाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम पदको दुरुपयोग गरी सचिव मरहठ्ठाले राज्यको सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियारले मुद्दा दायर गरिएको जनाएको छ । अख्तियारका अनुसार पूर्वसचिव मरहठ्ठाले दरौदी खोलामा काल्पनिक पुल निर्माणको डिजाइन गराएर भुक्तानी गराएका थिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम अख्तियारले मरहठ्ठासहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

प्रकाशित मिति २०७९ फागुन १४ गते आइतबार ०४:०१
हजुरको प्रतिक्रिया