पोखरा
प्रविधिमैत्री सञ्चारमा महिलाको पहुँचलाई प्रभावकारी बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको ‘प्रविधिमैत्री सञ्चारमा महिलाको पहुँच’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त विषयमा जोड दिएका हुन् ।
यस वर्षको महिला दिवसको नारा ‘लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने तय गरिएको छ । सोही नारालाई लिएर शुक्रबार आयोजना गरेको अन्तरसंवादमा बोल्दै प्रमुख अतिथि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले प्रविधिमा गण्डकी प्रदेश एक नम्बर बन्नुपर्छ भनि आफूले पहल गरेको जिकिर गरे । उनले प्रविधिमैत्री सञ्चार गृह र त्यसमा पनि महिलाको पहुँच आजको आवश्यकता रहेको बताए ।

अन्तरसंवादमा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सञ्चार र प्रविधिबारे प्रस्तुति दिदैँ कोभिड पछि प्रविधिको महत्व झन् बढेको सुनाइन् । उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा कार्यरत महिलाको प्रविधिमा पहुँचतता बढेतापनि यसलाई प्रभावकारी बनाउन लाग्नुपर्नेमा जोड दिइन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले पोखरा पर्यटकीय शहरसँगै प्रविधिमैत्री शहर बनाउनुपर्नेमा पहल गरिनुपर्ने बताए । पर्यटन व्यवसायी लक्की कार्कीले प्रविधि युगमा लैङ्गिक समानताका लागि महिलाको प्रविधिमा पहुँच र सहभागिता हुनुपर्ने बताइन् ।
अग्रज पत्रकार बद्री विनोद प्रतिक, नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्याल, चितवन शाखाकी उपाध्यक्ष प्रतिमा ढकाल, जिल्ला प्रहरी कार्यालय कास्की महिला सेलकी प्रमुख समिक्षा घिमिरेले प्रविधिमैत्री सञ्चार र त्यसमा महिलाको उपस्थितिलाई जोड दिएका थिए ।
प्रकाशित मिति २०७९ फागुन १९ गते शुक्रबार ०६:४४




