२०८३ साउन २१ गते बिहीबार

पोखरा विमानस्थलमा आजदेखि नियमित रात्रिकालीन उडान

पोखरा विमानस्थलमा आजदेखि नियमित रात्रिकालीन उडान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २५ गते बिहीबार ०८:५३

नेपालगञ्जबाट साँझ ७ः३० बजे, भैरहवाबाट साँझ ७ः२५, भद्रपुरबाट साँझ ६ : ५५ र काठमाडौंबाट ७ः ३० बजे पोखराका लागि उडान हुने

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि नियमित रुपमा रात्रिकालीन उडान हुने भएको छ । विमानस्थलमा इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएको १५ दिनपछि रात्रिकालीन नियमित उडान हुने लागेको हो ।

यो प्रणाली गत फागुन ११ गते लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण भइरहेको छ । फागुन ११ गतेदेखि केही उडान रातिको समयमा भएपनि नियमति भएका थिएनन् । रातिको उडान परीक्षण पनि सफल भइसकेपछि अब आजदेखि नियमित उडान हुन लागेको हो । पोखरा विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार आजदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्न लागेको हो ।

आज साँझ ४ ठाउँबाट बुद्धयले पोखरामा रात्रिकालीन उडान गर्न लागेको बुद्ध एयर पोखराका कार्यालयका प्रमुख गौतम बरालले जानकारी दिए । उनका अनुसार आज नेपालगञ्ज, भैरहवा, भद्रपुर र काठमाडौबाट पोखरा लागि साँझ उडान हुँदैछ ।

नेपालगञ्जबाट साँझ ७ः३० बजे, भैरहवाबाट साँझ ७ः२५, भद्रपुरबाट साँझ ६ : ५५ र काठमाडौंबाट ७ः ३० बजे पोखराका लागि उडान हुने बरालले बताए । बरालका अनुसार साँझ पोखरा आएका यी जहाज पोखरा विमानस्थलमा नै रहनेछन् र भोलिपल्ट पोखराबाट विभिन्न गन्तव्यमा उडान भर्नेछन् ।

बुद्ध एयरले आन्तरिक उडानमा पोखरालाई दोस्रो हब बनाएर उडान गर्ने योजनासहित रात्रिकालीन उडान सुरु गरेको हो । बुद्धले पोखराबाट जुन÷जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तालिका बुद्धले बनाएको छ । गत पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट आन्तरिक उडान मात्रै हुँदै आएको छ । अन्तर्राष्ट्रिय उडानको अझै टुंगो लागेको छैन ।

 

प्रकाशित मिति २०७९ फागुन २५ गते बिहीबार ०८:५३
हजुरको प्रतिक्रिया