गठबन्धनबाट ममता झा, रामसहाय यादव, प्रमिला यादवको नाम
काठमाडौं
सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट पुरुष र महिला र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।
जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने भएका छन् भने जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।
तर निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ ।
यसले जसपा अफ्ठ्यारोमा परेको छ । त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए ।
चैत तीन गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।
त्यस्तै, नेकपा (एमाले) ले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ११:३५




