पोखरा
पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्रै विवाद चर्किएको छ ।
स्ववियु सभापतिको टिकट वितरणमा असन्तुष्ट नेविसंघभित्रको एउटा समूहले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिको कार्यालय र क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । उनीहरुले माउ पार्टी नेपाली कांग्रेस र आफ्नो संगठन नेविसंघको झण्डा टाँगेका छन् ।
इकाइमा छलफल नै नगरी नेविसंघ जिल्ला समितिले एकलौटी टिकट बाँडेको र आफूहरुलाई धम्की दिइएकाले तालाबन्दी गर्न बाध्य भएको नेविसंघका निवर्तमान इकाइ सचिव दिवाकर कर्णले बताए । असन्तुष्ट इकाइ उपसभापति, सचिव कर्ण, सदस्यसहित १४ जनाले गत २७ फागुनमै राजीनामा दिएका थिए ।
क्याम्पसले स्ववियु निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन खोजेपछि मंगलबार क्याम्पस प्रशासनमै तालाबन्दी गरेका छन् । उम्मेदवारको नामावली प्रकाशन गर्दा कतिपय विद्यार्थीलाई थाहै नभएको समेत दाबी नेविसंघभित्रकै एउटा समूहको छ । नेविसंघ इकाइ समितिबाटै राजीनामा दिनेमा प्रत्यक्ष र समानुपातिकतर्फका सदस्य पनि उम्मेदवार छन् ।
परिचयपत्र नै नभएको मान्छेको उम्मेदवारी दर्ता गरेको तालाबन्दी गर्ने समूहको आरोप छ । अब चुनावको नयाँ मिति घोषणा गरेर सुरुबाटै निर्वाचन प्रक्रिया थाल्नुपर्ने उनीहरुको माग छ । नेविसंघको अर्को समूहले भने स्ववियु चुनाव गर्न नदिन संगठनभित्रकै अराजक व्यक्ति लागिपरेको आरोप लगाएको छ ।
प्रकाशित मिति २०७९ फागुन ३० गते मंगलबार ०३:११



