पोखरा
तनहुँमा लागुऔषधसहित ३ युवा पक्राउ परेका छन् । तनहुँ प्रहरीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट मंगलबार विहान ३४५ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो । भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १८२ नम्बरको बस चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
बसमा सवार रुपन्देहीको सिद्वार्थ नगरपालिका–६ पिपरैयाका ४० वर्षीय महेशको चमारको झोलाबाट डाइजापाम, फेनरागन र नुर्फिन १००-१०० एम्पुल बरामद गरेको उनले जानकारी दिए । सोही बसमा सवार तनहुँको ऋषिङ गाउँपालिका–१ सपाङदीका २१ वर्षीय आकाश गाहा मगरको साथबाट डाइजापाम, फेनरागन र नुर्फिन १५-१५ एम्पुल बरामद भएको छ ।
लागुऔषध कारोबारमा संग्लन तनहुँकै देवघाट गाउँपालिका–२ बैडीका २१ वर्षीय सुरज थापा पनि पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट १० दिने म्याद थप गरी अनुसन्धान थालेको सूचना अधिकारी खाँणले बताए ।
प्रकाशित मिति २०७९ चैत १ गते बुधबार ०७:१२