२०८३ साउन २१ गते बिहीबार

बेनी–जोमसोम सडकको रुप्से खण्ड आजदेखि ६ घण्टा बन्द

बेनी–जोमसोम सडकको रुप्से खण्ड आजदेखि ६ घण्टा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार ०७:३१

सो स्थानमा कमजोर भूबनोटका कारण बर्सेनी बाढी, पहिरो र नदी कटानले सडकमा क्षति गर्ने गरेकोमा पहिरो रोकथाम तथा नियन्त्रणसम्बन्धी प्राविधिक अध्ययन समेत भइरहेको छ ।

म्याग्दी

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर(बेनी–जोमसोम–कोरला) सडक अन्तर्गत म्याग्दीको रुप्से खण्ड आजदेखि ६ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारको काम भइरहेको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तका अनुसार आजदेखि चैत १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ बजे र दिउँसो १ देखि ३ बजेसम्म यातायातको आवतजावत बन्द गरेर सडक निर्माणको काम गरिने छ । ‘चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ’ उनले भने, ‘पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।’

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत् जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने गाडीले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक गाडीको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।

सडक आयोजनामार्फत् पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ । बेनी जोमसोम सडकको केही स्थानमा पक्की पुल निर्माण भएपछि केही बेलिब्रिज जगेडा छन् । आयोजनाले पुल स्थान्तरणसहित करिब ३ सय मिटर सडकको एप्रोजसहितको काम गर्न ३ करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो । त्यहाँ मुक्तिनाथ निर्माण सेवाले काम गरिरहेको छ । सो स्थानमा कमजोर भूबनोटका कारण बर्सेनी बाढी, पहिरो र नदी कटानले सडकमा क्षति गर्ने गरेकोमा पहिरो रोकथाम तथा नियन्त्रणसम्बन्धी प्राविधिक अध्ययन समेत भइरहेको छ ।

 

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०७:३१
हजुरको प्रतिक्रिया