२०८३ साउन २१ गते बिहीबार

त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्ववियु चुनाव

त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्ववियु चुनाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ५ गते आइतबार ०७:४२

पोखराका क्याम्पसहरुमा भने आज निर्वाचन नहुने भएको छ । चुनाव हुने ६ वटा क्याम्पस मध्ये २ वटामा अदालतले चुनावी प्रक्रिया रोकेको छ भने अन्य क्याम्पसहरुमा विद्यार्थी समूहबीचमा विवाद हुँदा आज चुनाव हुन सकेन ।

पोखराका क्याम्पसहरुमा हुन सकेन चुनाव

पोखरा

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन आज हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियु चुनाव हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयका ४८ आंगिक र ठूलो संख्यामा सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । चुनावको सम्पूर्ण तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ । आज हुने निर्वाचनमा बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

पोखराका क्याम्पसहरुमा भने आज निर्वाचन नहुने भएको छ । चुनाव हुने ६ वटा क्याम्पस मध्ये २ वटामा अदालतले चुनावी प्रक्रिया रोकेको छ भने अन्य क्याम्पसहरुमा विद्यार्थी समूहबीचमा विवाद हुँदा आज चुनाव हुन सकेन । देशकै सबै भन्दा धेरै विद्यार्थी संख्या रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी संगठनको नाम सम्बन्धी विषय अदालतमा पुग्दा उच्च अदालत पोखराको अन्तरिम आदेशले चुनाव रोकिएको हो ।

उच्च अदातलले क्याम्पसलाई चैत ८ गतेसम्म लिखित जवाफ दिन आदेश दिएको छ । अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालाशले तत्कालका लागि निर्वाचनसम्बन्धी काम, कारवाही अगाडि नबढाउनू भनी अदालतले फागुन २८ गते गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । दर्ता गराएको नाम परिवर्तन भएको भन्दै स्वतन्त्र विद्यार्थी समूहले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाई उच्च अदालतपोखरामा रिट दायर गरेको थियो ।

विद्यार्थी समूहको तर्फबाट विप्लवी न्यौपानेले रिट दायर गरेकी थिइन् । फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर पृथ्वी  विद्यार्थी मञ्च राखेर अन्तिम नामावली प्रशासन गरेको थियो ।

त्यसगैरी पोखरा नर्सिङ क्याम्पसमा उम्मेवादर विरुद्ध परेको उजुरीमा चुनाव रोक्न आदेश दिएपछि चुनाव रोकिएको छ । अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र ऋषि राजभण्डारीको संयुक्त इजालासले क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी तत्काल काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिबाट सभापति उम्मेदवार बनेकी अनुष्ठा चापागाईंले अनेस्ववियुबाट सभापति उम्मेदवार बनेकी अन्जना अधिकारी सरकारी कर्मचारी रहेको भन्दै उम्मेदवारी बदर गर्न माग गर्दै फागुन ३० गते अदालतमा रिट दायर गरेकी थिइन् । अनुष्ठा चापागाईले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस अन्तर्गतको अनेरास्ववियु समेत ६ जनाविरुद्ध रिट दर्ता गरेकी थिइन् । पोखराका इन्जिनियरिङ अध्ययन संस्थान, वनविज्ञान अध्ययन संस्थान, जनप्रिय क्याम्पस र संस्कृत विश्वविद्यालय अन्तर्गतको संस्कृति क्याम्पसमा विद्यार्थी समूहबीचको विवादले तालबन्दी भएपछि चुनाव हुन नसकेको हो ।

आज हुने स्ववियु निर्वाचनमा त्रिविले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ । स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ  भने कुनै कारणले निर्धारित मितिमा निर्वाचन हुन नसके ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याको अनुपातमा फरक छ  ।

त्रिविसँगै नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा समेत स्ववियु चुनाव हुन लागेको हो । त्रिविमा पछिल्लोपटक ०६५ मा प्रायः सबै आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु चुनाव भएको थियो । २०७३ मा केही क्याम्पसमा चुनाव भएपनि ती क्याम्पसमा त्यसपछि चुनाव हुन सकेको थिए । त्रिभुवन विश्वविद्यालयले आचारसंहिता पालना गरी स्ववियु निर्वाचन गराउन सम्बन्धित पक्षलाई अपील गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु विद्यार्थीको चौतर्फी विकास गर्ने क्याम्पसभित्रको पवित्र संस्था भएकाले सफलतापूर्वक सम्पन्न गर्न अपील गरेको छ ।

प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०७:४२
हजुरको प्रतिक्रिया